Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाकाबन्दीको समयलाई फाइदा उठाउँदै ओलीले राष्ट्रवादी बनेको ढोंग रचेको सीपी मैनाली आरोप

काठमाडौं : नेकपा मालेका महासचिव सीपी मैनालीले आजकल देखिएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नै वास्तविक चरित्रका भएको बताएका छन् । ओलीले नाकाबन्दीको समयलाई फाइदा उठाउँदै राष्ट्रवादी बनेको ढोंग रचेको आरोपसमेत लगाए । उनले चीनसंग सन् २०१५ मा गरेको सम्झौता पालना नगरेको र बीआरआईसंग गरेको सम्झौता पनि पालना नगरेको आरोप लगाए ।

मैनालीले हिजो राष्ट्रवादी भनेर भ्रम छर्ने ओलीको वास्तविक चरित्र आज झल्किएको दावी गरे । उनले ओलीसंग झापा आन्दोलन संगगंगै गरेको स्मरण गर्दै भनेका छन्, ‘यात्रा लामो हो तर जनतालाई विश्वस्त पार्न सकिएको आज हो ।’ उनले ओलीको राष्ट्रघाती चरित्र सम्झदै भने, ‘ओली तिनै हुन् जसले आफ्नै पार्टीभित्रका मान्छेलाई किनबेच गरेर महाकाली सन्धी गरेका थिए ।’

महासचिव मैनालीले ओली जति सरकारमा रह्यो त्यत्ति नै देश दलदलमा धकेलिने भन्दै संयुक्त राष्ट्रिय आन्दोलनको घोषणा गरेको स्पष्ट पारे । विभिन्न दलहरुसंग मिलेर महासचिव मैनालीले ओली सरकारको गलत कदमको भण्डाफोर गर्न संगठित भएको बताए । उनले भने, ‘असार २० गते नै घोषणा गरेका थियौं । शनिबार भने सरकारलाई दिइएको पत्रको पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हौं ।’

उनले भने, ‘यो सरकारले जनताको भावना र अपेक्षालाई कुल्चने काम गर्यो । पार्टी एकता गरे पनि त्यसको घोषणापत्रलाई समेत कुल्चेको छ । प्रचण्ड बहुमतको सरकारले पटक पटक गल्ती गरिरहेको छ भने त्यस्तो गल्ती सच्याओस् भन्ने अभियानका रुपमा आन्दोलनको घोषणा गरेका हौं ।’

उनले आन्दोलनबारे भने, ‘कम्युनिष्टका मुलभुत मुद्दाहरुलाई उठाएर हामीहरु आन्दोलन गर्दैछौं । मोर्चाबन्दी गर्दैछौं । जनमुखी हुनुपर्यो । देशमुखी हुनुपर्यो ।’ उनले केपी शर्मा ओली नेतृत्वको सरकारले जातीय द्धन्द्ध बढाउने, धार्मिक असहिष्णुता बढाउने, धार्मिक स्वतन्त्रताको नाममा धार्मिक द्धन्द्ध बढाउने काम गरेको आरोप लगाए ।

मैनालीले ‘नेपाल बहुधार्मिक र स्वतन्त्रता राष्ट्र हो । सनातनी संस्कृतिको राष्ट्र हो । तर यहाँ विदेशी धर्मलाई अगाडि बढाउने, मिसिनरी क्रिष्टियनलाई अगाडि बढाउने काम भएको छ’ भने । यसबारे थप स्पष्ट पार्दै उनले भने, ‘गुठी विधेयक त्यसैको उपज हो । बाह्य संस्कृतिलाई हावी गराउनका लागि गुठीमाथि आक्रमण गरिएको हो । धर्म निरपेक्ष भनेकै क्रिष्टियानिटी हो भनेर अहिलेको सरकार प्रमाणित गर्न खोजिरहेको छ ।’

उनले वर्तमान सरकारले विकासमा परम्परागत बजेट, रोजगारी प्रवद्र्धन गर्ने कामबाट पछाडि रहने, शिक्षा र स्वास्थ्यमा निजीकरणलाई प्रोत्साहन गर्ने काममा लागिरहेको आरोप पनि लगाए । ओली सरकार संविधान विपरीत गएर विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएको भन्दै नेता मैनालीले त्यसलाई संवोधन गर्नका लागि लाग्नुभन्दा प्रतिबन्ध लगाउनु गलत भएको स्पष्ट पारे ।

निषेध गरेर जाने सरकारको रबैया गलत भएको भन्दै उनले जोडे, ‘यद्यपि विप्लवका केही गतिविधि गलत छन् । तर वार्तामा ल्याएर अगाडि बढ्न सकिन्थ्यो ।’ ओली सरकारको विकृतिप्रति उनले भने, ‘आसेपासेलाई अगाडि बढाएरमात्र यो सरकार अगाडि बढेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा लथालिंग छ ।

मजदूरको संलग्नता छैन । राम्रो कामको प्रक्रिया पनि लथालिंग छ । प्रत्येक दिन आयात भइरहेको छ निर्यात बढाउने काम भएको छैन । दैनिक अरबौं खर्च भइरहेको छ । सोधानान्तर घाटामा छ ।’ ३६ हजार ऋण प्रत्येक नेपालीको भागमा परेको भन्दै उनले यो सरकारले कुनै पनि विकासका काम गर्न नसकेको बताए । उनले राजनीतिमा सर्वसत्तावाद र केन्द्रीकृत गर्ने काम भएको जनाउँदै यसले गर्दा सत्ताधारीहरुले विदेशीलाई प्रवेश दिइरहेको आरोप लगाए ।

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्