Logo
२७ बैशाख २०८१, बिहीबार
(July 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीले मधेशी जनतालाई हेर्ने दृष्टिकोण फरक रहेको राजपाकाे आरोप

काठमाडौ : सर्वसाधारण जनता माथि गोली चलाएर दमन गर्न खोजेको भन्दै राष्ट्रिय जनता पार्टी राष्ट्रिय मानवअधिकार आयोग पुगेको छ ।
सर्लाही र महोत्तरीको घटनामा प्रहरीले दमन गरेको भन्दै मानवअधिकारको रक्षा गर्न राष्ट्रिय जनता पार्टी राष्ट्रिय मानवअधिकार आयोग पुगेको हो ।

बुधबार अपरान्ह राजपा अध्यक्ष मण्डलको टोलीले शान्तिपूर्ण विरोधमा जम्मा भएका सर्वसाधारण जनता माथि गोली चलाएर दमन गर्न खोजेको भन्दै मानवअधिकारको रक्षाको पहल गर्न आयोगका अध्यक्ष अनुपराज शर्मालाई अनुरोध गरे ।

गएको असार १५ गते पूर्वपश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा शान्तिपूर्ण विरोध प्रदर्शनमा आएका सर्वसाधारणलाई प्रहरीले गोली चलाउँदा इश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहको मृत्यु भएको थियो । मृतक सिंहको टाउकोमा गोली लागेको थियो ।

प्रहरीले सामान्य बल प्रयोग गरेर नियन्त्रण गर्न सक्ने अवस्थामा पनि गोली नै चलाउनुले प्रहरीको मधेशी जनतालाई हेर्ने दृष्टिकोण अन्य भन्दा फरक रहेको राजपाले आरोप लगाएको छ । प्रहरीले मान्छेको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार कुण्ठित गर्दै गोली नै चलाउन थालेपछि मानिसको बाँच्न पाउने अधिकार नै खोसेको आरोप पनि लगाएको छ ।

यता राजपा नेपालको ज्ञापनपत्र बुझ्दै आयोग अध्यक्ष शर्माले छानवन आयोग गठन गर्न सरकारलाई दबाब दिनुपर्ने बताए । पछिल्ला केहि घटनामा शान्तिपूर्ण बिरोध प्रदर्शनमा प्रहरीले अत्याधिक बल प्रयोग गर्न थालेको भन्दै बिना दबाब दिन सरकारले केहि नगर्ने बताए ।

सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो । मृतकका परिवार र गाउलेले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । जसमा सरोज सिंहको टाउकोमा गोली लागेको थियो ।

प्रकाशित मिति: Jul 3, 2019

प्रतिक्रिया दिनुहोस्