Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हावाहुरीका कारण सर्लाहीमा २ घाइते, करेन्ट लागेर १ बालकको मृत्यु

सांकेतिक तस्बिर

सर्लाहीमा मङ्गलबार राति वर्षासँगै आएको हावाहुरीमा परी २ घाइते भएका छन् । मङ्गलबार राति करीब साढे ९ बजे आएको हावाहुरीले ब्रम्हपुरी गाउँपालिका-५ पडरियामा एक र मलङ्गवा नगरपालिका-१२ गम्हरीयामा एक गरी २ घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीद्वारा जनाइएको छ ।

हावाहुरीले ब्रहम्पुरी–५ पडरियामा एकतले घरको रेलिङ भत्काउँदा त्यसमा परेर ३० वर्षीय नन्द पासमान घाइते भएका छन् । घाइते पासमानको छाती, पाखुरा र दाहिने हातमा गम्भीर चोट लागेको छ ।

त्यस्तै मलङ्गवा-१२ गम्हरीयामा जस्तापाताले छाएको कुखुरा फार्मको छानो हावाहुरीले उडाउँदा त्यसमा काम गर्ने एक कामदार घाइते भएका छन् । घाइते हुनेमा महोत्तरी जिल्ला परौल-६ बर्दिया घर घई हाल मलङ्गवा-१२ गम्हरीया कुखुरा फार्ममा काम गर्दै आएका ५७ वर्षीय लखन मण्डल रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए । जस्तापाताले उनको कम्मर र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

अहिले दुवै घाइतेकोे उपचार सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भइरहेको छ । तेजगतिको हावाहुरीले गर्दा बालीनालीमा मात्र नभई तरकारीबाली र आँपलाई बढी क्षति पुर्याएको चक्रघटना गाउँपालिका सगरदिनाका किसान बजै कुशवाहाले जानकारी दिए ।

यसैबीच करेन्ट लागेर सर्लाहीको रामनगर गाउँपालिकामा एक बालकको करेन्ट लागेर ज्यान गएको छ । रामनगर गाउँपालिका-१ डमार बस्ने रामसाह रामको ५ वर्षीय छोरा रवि राम टेबुलमाथि राखिएको पङ्खाको प्लग जोड्ने क्रममा बालकलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 19, 2019

प्रतिक्रिया दिनुहोस्