Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हावाहुरी प्रभावितका लागि प्रदेश सरकारद्वारा राहत घोषणा, मृतकका परिवारलाई डेढ लाख

सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा हावाहुरीबाट ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख ५० हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने भएको छ। पूर्णरुपमा घर क्षति भएका परिवारलाई २० हजार रुपैयाँ र आंशिक क्षति भएकालाई १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

यसअलावा पूर्णरुपमा घर क्षति भएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्ने निर्णय भएको सदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए। आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले मृतकका परिवारसँगै घाइतेहरुलाई पनि राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।

यस्तै, बालीनाली, पशुपंक्षीमा क्षति भएको विषयमा विषयगत मन्त्रालयले कानुनबमोजिम मापदण्ड बनाई कार्यान्वयन गर्ने निर्णय भएको मन्त्री शाहले बताए। मन्त्री शाहका अनुसार हावाहुरीबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन। उनले क्षतिको विवरण आए लगत्तै राहत रकम उपलब्ध गराइने स्पष्ट पारे।

मन्त्री शाहले अहिलेसम्म प्राप्त विवरणका अनुसार कैलालीमा मात्रै १ हजार १ सय ७४ घर पूर्णरुपमा क्षति भएको छ। मन्त्री शाहले कैलालीको धनगढीमा अवरुद्ध विद्युत सेवालाई जतिसक्दो छिट्टै सुचारु गराउने प्रयास भइरहेको बताए।

प्रदेश सरकारले सुदूरपश्चिम मुख्यमन्त्री राहत कोष स्थापना गर्ने निर्णय गरेको छ। प्रदेशमा आउने बाढी, हावाहुरी, पहिरो लगायतका प्राकृतिक प्रकोपबाट प्रभावित भएकाहरु सहयोग रकम उपलब्ध गराउने उद्देश्यले सो कोष स्थापना गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता शाहले बताए।

उनले सो कोषमा सुदूरपश्चिमबासी तथा देशविदेशमा रहने सबै नेपालीलाई रकम जम्मा गर्न पनि आग्रह गरे।

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्