Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जून ५ : वृक्षरोपण गर्दै मनाइयो विश्व वातावरण दिवस

भद्रपुर :  विश्व वातावरण दिवसका अवसर पारेर आज चन्द्रगढी सामुदायिक वनको परिसरमा जिल्लाका सबै सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासी भएर वृक्षरोपण गरेका छन् ।

डिभिजन वन कार्यालय र सामुदायिक वनको संयुक्तरूपमा आयोजित कार्यक्रममा पानीसाझ र लामपाते जातका बिरुवा रोपिएको छ । १२ बिघा क्षेत्रफलमा रहेको सो सामुदायिक वनको ४ बिघा जग्गामा प्रदेश नं १ का सांसद गोपाल बुढाथोकी, जिल्ला समन्यव समितिका संयोजक सोेमनाथ पार्तेल, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललगायत जिल्लाका सबै कार्यालयका प्रमुखले बिरुवा रोपेका हुन् ।

बिरुवा रोपेर त्यसै नछाड्न आग्रह गर्दै सांसद बुढाथोकीले निरन्तर अनुगमन र बिरुवाकोे रेखदेख गर्न सामुदायिक वनका कर्मचारी र पदाधिकारीलाई अनुरोध गरेका हुन् । डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले ताप्लेजुङ जिल्लाबाट मगाएर झापामा परीक्षणका लागि लामपाते जातको बिरुवा चाँडै हुर्कने, काठ पनि राम्रो हुने र अक्सिजन बढी दिने हुँदा रोपिएको बताए ।

कार्यक्रमस्थलमै डिभिजन वन कार्यालयले प्रत्येक व्यक्तिलाई मेवा, आँप, लिचीलगायत बिरुवा वितरण गरेका थिए। जिल्लाका १५ स्थानीय तहले वृक्षरोपण र सरसफाइ कार्यक्रम गरेर वातावरण दिवस मनाएका हुन् ।

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्