Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होटल याक एण्ड यतिबाट समातिएका १२ भारतीयका आफन्तले विदेशमन्त्री स्वराजलाई भेट्दै

महानगरीय प्रहरी परिसर काठमाडौँ, अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीद्वारा गत वैशाख २७ गते राति ११ बजे होटल याक एण्ड यतिबाट १२ जना भारतीय नागरिक पक्राउ परेका थिए ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार नेपालमा बसेर अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको परिवारले भोलि सोमबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेट्दैछन् । स्वराजलाई भेट्दै परिवारले उनीहरुलाई छुटाउन सहयोग माग्ने भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

उनका अनुसार आफूसहितका पीडितका परिवारले स्वराजलाई इमेलमार्फत पत्र पठाइसकेको छ । ‘हामीले पूर्ण विवरणसहित इमेल लेखेर सुष्मा स्वराजलाई पठाएका छौँ । हामीले हाम्रो मान्छे फिर्ता ल्याउन विदेश मन्त्रालयको सहयोगको आशा गरेका छौँ,’ पक्राउ परेका अभियुक्त गजेन्द्र सिंहका भाइ देवेन्द्रले हिन्दुस्तान टाइम्सलाई बताए ।

उनीहरुका परिवारले नयाँ दिल्लीस्थित विदेश मामिला मन्त्रालयका अधिकारीहरुलाई उक्त घटनाको बारेमा जानकारी गराएका छन् । ‘उनीहरु नेपालमा तीन दिने व्यवसायिक कार्यशालामा सहभागि हुन गएका थिए । तर उनीहरुलाई नेपाली महेन्द्र सिंहले उजुरी दर्ता गराएपछि पक्राउ परेका हुन्,’ देवेन्द्रले बताए ।

देवेन्द्रले नेपाली नागरिकले हालेकोे उजुरीको आधारमा भारतीय नागरिकलाई पक्राउ गर्नु निन्दनीय भएको बताए । यता यस विषयमा काठमाडौं प्रहरी प्रमुख (एसएसपी) उत्तमराज सुवेदीले उनीहरुलाई छुटाउन आफूलाई कहीँकतैबाट दबाब नआएको बताए ।

उनले भने, ‘उनीहरुका विषयमा विभिन्न क्षेत्रबाट उजुरी आइरहेकाले ठगी र सङ्गठित अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।’ एसएसपी सुवेदीका अनुसार तीन जनाले महानगरीय प्रहरी परिसरमा रु एक करोड २३ लाख ठगी भएको भन्दै उजुरी दर्ता गराएका छन् । उनले यस्ता अबैध व्यवसायमा नफस्न सर्वसाधारणलाई अपिल समेत गरेका छन् ।

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्