Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराजको ‘साङ्लो’बाट  डेब्यू गर्दै निकिता

काठमाडौं :  एक समय नेपाली फिल्मका व्यस्त नायक विराज भट्ट केही समय भोजपुरी फिल्ममा छाए। ३ वर्ष अघि फिल्म ‘जय पर्शुराम’बाट नेपाली फिल्ममा विराजले कमव्याक गरे पनि त्यो कमब्याक सफल कमब्याक हुन सकेन। त्यसयता नेपाली फिल्ममा खासै सक्रिय नभएका विराज अब दर्शकमाझ निर्देशकका रूपमा ‘डेब्यू’ गर्दैछन्।

विराजको होम प्रोडक्सन विराज भट्ट फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘साङ्लो’ को गत शुक्रबार राजधानीमा घोषणा गरिएको छ। यो फिल्ममा विराजकै अभिनय र निर्देशन रहनेछ। आगामी मंगलबारबाट छायांकन जाने फिल्ममा विराजको जोडीका रूपमा पूर्व ‘मिस नेपाल’ निकिता चण्डक देखिँदैछिन्। फिल्ममा तेजबहादुर खड्काको लगानी रहनेछ।

विराजले आफुले मुम्बईमा बस्दा ९ वटा नेपाली फिल्ममा कामका लागि हस्ताक्षर गरे पनि तीमध्ये एक फिल्म ‘जय पर्शुराम’ मात्र रिलिज भएको खुलाए। ‘मैले एक वर्ष अघिदेखि नै ‘साङ्लो’को काम सुरु गरेको थिएँ।

यो कुरा कमैमात्रलाई थाहा थियो । म आफै निर्माता, निर्देशक र कलाकार भएकाले पनि राम्रो मेहनत गर्नेछु भन्ने कुरामा विश्वास दिलाउँछु’, उनले भने। विराजले एक्सन र प्रेमकथाको फिल्म हिन्दी र भोजपुरी भाषामा पनि डब गरिने खुलाए।

नवनायिका निकिताले आफुले पहिलोपटक नायक विराजलाई भेट्न जाँदा फिल्ममा काम नगर्ने मनसाय राखे पनि विराजसँगको भेट पछि सोचमा परिवर्तन आएको बताईन्। ‘पहिला अभिनय सिकेर मात्र काम गर्छु भन्ने सोच बनाएको थिएँ। किनकी विराज दाई आफैमा एउटा स्टारडम भएको कलाकार हुनुहुन्छ। तर उहाँसँग भेट गरेपछि उनले देखाएका सदासयता र साधारण व्यवहारले म प्रभावित भएँ’,निकिताले भनिन्, ‘फिल्मको स्क्रिप्टको व्याख्या उनले यति भद्र तरिकाले गरे कि स्क्रिप्ट सुनिसक्दा म त रोएछु।’

फिल्ममा विराज र निकिताका अलावा प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलगायतको अभिनय रहनेछ। फिल्मको केही दिन अघि मात्र डोटीमा दुई दिनको छायांकन गरिएको थियो।

फिल्ममा मानकृष्ण महर्जनको छायांकन, सुरेश अधिकारी, राजनराज शिवाकोटी र विनोद खम्बुको संगीत, शिवम अधिकारीको पटकथा तथा संवाद, कविराज गहतराज र रामजी लामिछानेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ। फिल्म काठमाडौं, डोटीको जोराइल, खप्तड र मुस्ताङमा खिचिनेछ।

प्रकाशित मिति: May 6, 2019

प्रतिक्रिया दिनुहोस्