Logo
१५ बैशाख २०८१, शनिबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३१ जनाको समुहमा राजपा पदाधिकारीको बैठक : फोरमसँगको एकता र महाधिवेशनको विषयमा छलफल

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी समितिको बैठक बसिरहेको छ । पार्टी एकीकरण र एकता महाधिवेशनको विषयमा छलफल गर्नका लागि आज बबरमहलस्थित पार्टी कार्यालयमा पदाधिकारी समितिको बैठक शुरु भएको प्रवक्ता केशव झाले बताए । तीन दिनसम्म चल्ने बैठकमा संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गर्ने कि नगर्ने, गर्ने हो भने कुन मोडलमा गर्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

दुवै दलको बीचमा अनौपचारिक वार्ता भएपनि हालसम्म औपचारिक वार्ता भएको छैन । अनौपचारिक वार्तामा फोरम नेपालले एकीकृत पार्टीको नाम, झण्डा र चुनावचिन्ह आफ्नो पार्टीको हुनुपर्ने प्रस्ताव राजपा नेपाल समक्ष गरेको छ । त्यस बारेमा पार्टीमा छलफल गरेर जानकारी गराउने राजपा नेपालका नेताहरुले फोरमको वार्ता टोलीलाई बताएका थिए । त्यो विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ । वार्ताका लागि दुवै तर्फबाट पत्र अदान–प्रदान भएको छ ।

पत्रमा दुवै पक्ष सकारात्मक देखिएपनि राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले फोरम नेपाल सरकारबाट नबाहिरिएसम्म वार्ताको वातावरण तयार नहुने बताउँदै आएका छन् । तर फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवले सरकार छाड्ने नछाड्ने विषयको छिनोफानो एकीकृत पार्टीको कार्यसमितिले गर्ने बताएका छन् ।

त्यस्तै, बैशाख ७, ८ र ९ गते हुने भनिएको राजपाको महाधिवेशन हुन सकेन । तोकिएको समयमा किन महाधिवेशन गराउन सकिएन, त्यसको समीक्षा पनि बैठकमा हुनुका साथै नयाँ मिति तोक्ने विषयमा समेत छलफल हुने बताइएको छ । उपाध्यक्ष वृषेशचन्द्र लालले तोकिएको समयमा महाधिवेशन गराउन नसक्नु पार्टीको कमजोरी भएको भन्दै यसले पार्टीका नेता तथा कार्यकर्तामा निराशा उत्पन्न हुने बताए ।

उनले अब तोकिने मितिमै महाधिवेशन हुनुपर्ने जोड दिए । पार्टीमा विशेष एकता अधिवेशन गर्ने प्रस्ताव पनि आएको छ । पार्टी अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले सो प्रस्ताव ल्याएका हुन् । तर सो प्रस्तावमा पार्टीभित्र सहमति हुन सकेको छैन । महन्द्र राय यादवलगायतले त्यसको विरोध गरेका छन् । महेन्द्रराय यादवले लोकतान्त्रिक विधि तथा निर्वाचन प्रणालीबाट चुनाव हुनुपर्ने बताएका छन् ।

पदाधिकारीको बैठकले त्यसको विषयमा छलफल गरि एउटा निष्कर्ष निकाल्ने बताइएको छ । पदाधिकारीको बैठक बस्नुअघि पार्टी कार्यालयमै राजपा अध्यक्षमण्डलको बैठक बसेको थियो । राजपा नेपालमा १३१ जनाको पदाधिकारी रहेको छ । राजपा नेपालका मात्र ११५ जना पदाधिकारी छन् भने एकीकरण गरेका दुईटा पार्टी जनमुक्ति पार्टीको १० र जनशक्ति पार्टीको ६ जना पदाधिकारी रहेका छन् ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्