Logo
|| April 10, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वतयारी गराउने ब्रिजकोर्स : लहड कि आवश्यकता ?

काठमाडौं : एसईई अर्थात विद्यालय तहको परीक्षा सकिएलगत्तै देशभरका ४ लाख ७५ हजारभन्दा बढी विद्यार्थी फुर्सदिला बनेका छन् । यो फुर्सदलाई केमा उपयोग गर्ने रु विकल्प अनेक छन् । मस्त घुमफिर गरेर, घतलाग्दा पुस्तकहरु पढेर, गतिला गतिला सिनेमा हेरेर वा घरपरिवारको काममा सघाएर समय कटाउन सकिन्छ ।

विकल्प यतिमै सकिँदैन । यतिबेला रुचीअनुसार कुनै नयाँ सीप सिक्न पनि सकिन्छ, जस्तो- कुलिनरी आर्ट (पाक कला), कम्प्युटरको कुनै विशेष प्रोगाम, कुनै भाषा वा फोटोग्राफी । छोटो अवधिका लागि यीमध्ये कुनै तालिम लिँदा पढाईको लय छुट्ने पो हो कि ? किनभने, विद्यालय तहमा उनीहरुले निरन्तर पढे । १० बर्षसम्म अविछिन्न रुपमा पुस्तक र होमवर्कमा केन्द्रित भए । एसईई उत्तिर्ण भएपछि फेरी पढाईको अर्को चरण सुरु हुनेछ ।

एसईईपछिको प्लस टु भनेको उच्च शिक्षाको ढोका हो, जहाँबाट सुदूर भविष्यको प्राज्ञिक यात्रा निर्धारण हुन्छ । करिअरको आधारशीला निर्माण हुने प्लस टुमा विद्यार्थीहरुले आफुलाई परिस्कृत पाठ्यक्रममा अभ्यस्त गराउनुपर्छ । विद्यालय तहको शिक्षा र प्लस टुबीचमा रहेको दूरी घटाउने काम ब्रिजकोर्सले गर्छ ।

मनोवैज्ञानिक उपचार

ब्रिज अर्थात साँघु । साँघुले खोला वारीकालाई पारी तर्न सजिलो बनाउँछ । ब्रिज कोर्सले चाही एउटा तहकालाई माथिल्लो तहमा सजिलोगरि चढाउँछ । यसले विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि मानसिक रुपमा तयारी गराउँछ ।

प्लस टुको पाठ्यक्रम गाह्रो छ कि ? पढ्न नसकिने हो कि ? भन्ने जस्ता भय वा भ्रम मेट्ने माध्याम हो, ब्रिज कोर्स । यसले विद्यार्थीको मनोवैज्ञनिक उपचार गर्छ । विद्यालय तहबाट प्लस टुमा फड्को मारेका विद्यार्थीलाई असहज नहोस् भनेर नै ब्रिज कोर्स गराइन्छ । यसले कक्षा ११ मा प्रवेश गर्ने र प्लस टु पढ्ने तयारी गराउँछ ।

प्लस टु पढाउने उत्कृष्ट शिक्षालयहरुमा भर्ना पाउन चर्को प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । निश्चित कोटामा भर्ना लिने ति प्लस टुले आवेदन दिएजति सबै विद्यार्थीलाई भर्ना गर्दैन । भर्नाका लागि तिनले लिने प्रवेश परीक्षा उतीर्ण हुनैपर्छ । त्यसका लागि ब्रिजकोर्सले सघाउ पुर्याउँछ ।

करिअर परामर्श

विद्यार्थीहरुलाई आवश्यक शैक्षिक परामर्श दिनु ब्रिजकोर्सको अर्को बिशता हो । आफ्नो रुची, क्षमता, आर्थिक अवस्था अनुसार कुन विषय पढ्ने ? कहाँ पढ्ने ? कसरी पढ्ने ? लगायतको विषयमा परामर्श र निर्णय लिन ब्रिजकोर्सले सघाउँछ ।

विद्यार्थीहरुमा आत्मविश्वास बढाउनु ब्रिजकोर्सको अर्को विशेषता हो । लामो समय विद्यालय तहको एकखाले वातावरणमा बसेका विद्यार्थीका लागि प्लस टुको पाठ्यक्रम र माहोल पनि फरक हुन्छ । कतिलाई त्यो असहज लाग्न सक्छ ।

प्लस टु कस्तो होला ? त्यहाँका शिक्षक र अनेक विद्यालयबाट आउने नयाँ साथीहरु कस्ता होलान् ? कसरी ‘एडजस्ट’ हुने होला ? लगायतका प्रश्नले हलचल मच्चाइरहेको विद्यार्थीहरुको मनमा ब्रिज कोर्सले आत्माविश्वास भरिदिन्छ ।

एसइई परीक्षा दिएका विद्यार्थीहरु किशोरकालका हुन्छन् । यो निकै कल्पनाशील र वहकिने उमेर पनि हो । तिव्र गतिमा शारीरिक परीवर्तन हुने यो उमेरमा मानसिक उथलपुथल पनि भइरहेको हुन्छ । यस्तो बेला खराब संगतमा पुग्ने जोखिम पनि रहन्छ । परिपक्वता र असल बाटोतिर डोरिनुपर्ने यो उमेरको फुर्सदमा ब्रिजकोर्स संसारभर नै उपयोगी मानिएको छ ।

तर, ख्याल गर्नुहोस्‘

शहरमा अनगिन्ती इन्स्टिच्युट खुलेका छन् । ब्रिजकोर्स गर्ने सुरमा तपाई तीमध्ये खराब इन्स्टिच्युटमा भर्ना हुन पुग्नुभयो भने अपेक्षित नतिजा हासिल नहुने पक्का छ । त्यसकारण भर्ना हुनुअघि इन्ष्टिच्युट सञ्चालकहरुको पृष्ठभूमि, सिकाई विधि, शुल्क आदिबारे राम्रोसंग बुझ्नुपर्छ । यहाँसम्म आइपुगेपछि पनि तपाईंले एउटा प्रश्न उठाउनैपर्छ- के ब्रिजकोर्स गर्नैपर्छ ?

ब्रिजकोर्स अनिवार्य होइन । यो नगरे पनि तपाईंले प्लस टुमा सहज अनुभव गर्न सक्नुहुन्छ । के मात्र हो भने, फुर्सदको समय व्यर्थमा बिताउनुभन्दा ब्रिजकोर्स गर्नु उपयुक्त हो । ब्रिजकोर्सले पढाइको सिलसिला जोड्छ र उच्च शिक्षाका लागि तयार बनाउँछ । अर्थात्, प्लस टुको शिक्षाबारे पूर्व अभ्यास गराउँछ ।

ब्रिजकोर्समा कक्षा ११ को पाठ्यक्रममा आधारित पठनपाठन गराइन्छ । अन्य के कस्ता तयारी गर्ने भन्ने कुरा बुझाइन्छ । त्यसबाहेक विद्यार्थीलाई बौद्धिक विकासका खुराकहरु पनि दिइन्छ ।

उत्कृष्ट कलेजहरुले प्रवेश परीक्षामा कस्ता प्रश्न सोध्छन् र त्यसको जवाफ कसरी दिने भनेर पूर्वतयारी ब्रिजकोर्सले गराउँछ । यी कारणहरुले गर्दा फुर्सदको समयमा ब्रिजकोर्स गर्नु राम्रो हुन्छ ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार १७:३०

प्रतिक्रिया दिनुहोस्