Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ सातापछि भारतमा लोकसभा चुनाव : भाजपामा अमित शाहको कद बढ्दै, आडवानी-कोसियारी ‘आउट’

भारतमा तीन सातापछि सात चरणमा सम्पन्न हुन लागेको संसदीय निर्वाचनमा भारतीय जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीपछिको नेतृत्वको हैसियत पार्टी अध्यक्ष अमित शाहलाई प्रदान गर्ने तयारी गरेको छ । पार्टी अध्यक्ष शाह भारतीय जनता पार्टीका वरिष्ठतम नेता लालकृष्ण आडवाणीको संसदीय क्षेत्र गुजरातको गान्धीनगरबाट चुनाव लड्दै छन् । आडवाणीले झण्डै सात दशक लामो चुनावी राजनीतिबाट उमेर र स्वास्थ्यका कारण विश्राम लिएका छन् ।

तर उनको क्षेत्रबाट शाहलाई उठाएर नरेन्द्र मोदीले उनको र अमित शाहको समिकरण झण्डै अटल बिहारी बाजपेयी र आडवाणीको जस्तो हुने संकेत दिएका छन् । बाजपेयीको गत बर्ष अगष्टमा ९४ वर्षको उमेरमा निधन भएको थियो । आडवाणी बाजपेयी भन्दा तीन वर्ष कान्छा छन् । यी दुई नेताले सन् १९६९ देखि १९८९ सम्म आलोपालो गरी पहिला जनसंघ र पछि भारतीय जनता पार्टीको नेतृत्व गरेका थिए, र पदमा नरहेको अवस्थामा पनि उनीहरुको सर्वमान्य हैसियत पार्टीमा स्थापित थियो ।

सन् २०१४ को निर्वाचनमा मोदीलाई नेतृत्वमा स्थापित गर्न र त्यसपछि प्रान्तमा भारतीय जनता पार्टीको हैसियत विस्तार गर्न सफल अमित शाहलाई दिइएको हैसियतले मोदीका वास्तविक उत्तराधिकारीका रुपमा उनलाई भारतीय राजनीतिमा हेरिने देखिन्छ । मोदी स्वयं आफ्नो वर्तमान क्षेत्र वाराणसीबाट नै चुनाव लड्ने भएका छन् ।

भारतीय जनता पार्टी मुख्यालयबाट बिहीबार जारी आंशिक सूची अनुसार नेपाल भारत सम्बन्धमा अध्ययन गर्न गठित प्रवुद्ध समूह भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीलाई ‘टिकट’ दिइएको छैन । उत्तराखण्डको नैनताल क्षेत्रलाई प्रतिनिधित्व गर्दै आएका कोसियारीको सट्टा प्रदेश अध्यक्ष अजय भट्टलाई भाजपाले उम्मेदवार बनाएको छ ।

त्यस्तै केन्द्रका दुई प्रभावशाली महिलामन्त्री सुष्मा स्वराज र उमा भारतीले पनि चुनाव नलड्ने इच्छा केन्द्रीय नेतृत्व समक्ष गरेको बुझिएको छ ।

मोदी वाराणसी, स्मृति ईरानी अमेठीबाट चुनाव लड्ने 

बिहिबार अवेर राति बिजेपीका वरिष्ठ नेता, केन्द्रीय मन्त्री तथा भाजपाका केन्द्रीय चुनाव समितिका सचिव जेपी नड्डाले १ सय ८४ उमेद्वारको नाम घोषणा गरे । नाम घोषणा हुनुपूर्व नै यस पटक भाजपाले केही ठूला नेतालाई उमेद्वार नबनाउने अनुमान गरिएको थियो । भाजपाले सार्वजनिक गरेको उमेद्वारहरुको सूचीमा सबैभन्दा रोचक अमित शाहको नाम थियो । अमित शाह गान्धीनगरमा चुनाव लड्नेछन् ।

भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवानी अहिले गान्धीनगरबाट सांसद छन् । शाह अहिले राज्यसभा सांसद छन् । उनी पहिलो पटक लोकसभा चुनाव लड्नेछन् । यो लिष्टमा आडवानीको नाम छैन । नड्डाले यसबारेमा केही बताएका छैनन् तर आडवानीको टिकट काटिएको अनुमान गरिएको छ ।

यूपीका २८ उमेद्वारको लिष्ट जारी
उत्तर प्रदेशमा जम्मा ८० सीट छ तर पहिलो लिष्टमा मात्र २८ उमेद्वारको नाम घोषणा गरिएको छ । यो लिष्टका अनुसार भाजपाले आफ्ना ६ जना बहालवाला सांसदको टिकट काटेको छ । यसमा वरिष्ठ नेता तथा पूर्व अध्यक्ष मुरली मनोहर जोशीको समेत नाम छैन । तर प्रधानमन्त्री नरेन्द्र मोदीको लोकसभा सीट एकपटक फेरि वाराणसीबाट हुनेछ ।

त्यहाँ भीम आर्मीका संस्थापक चन्द्रशेखर आजाद उर्फ रावण चुनाव लड्नेछन् । उनले कांग्रेस र अरु पार्टीहरुलाई समर्थनको अपील गरेका छन् । हालै कांग्रेस महासचिव तथा पूर्वी उत्तरप्रदेशकी इन्चार्ज सोनिया गान्धीले अस्पतालमा रहेका रावणसँग भेटघाट गरेकी थिइन् । त्यसपछि रावणले चुनाव लड्ने कुरा चर्चामा आएको थियो ।

लखनउबाट गृहमन्त्री राजनाथ सिंह, अमेठीबाट स्मृति ईरानी, गाजियावादबाट विदेश मन्त्री जनरल बिके सिंह चुनाव लड्नेछन् । अमेठीमा स्मृति ईरानीले कांग्रेस अध्यक्ष राहुल गान्धीसँग चुनावी प्रतिस्पर्धा गर्नेछिन् । हेमा मालिनी मथुराबाट चुनाव लड्नेछिन् ।केन्द्रीय संस्कृति मन्त्री महेश शर्मा नोएडाबाट चुनाव लड्नेछन् ।

यूपीबाट सांसद वरुण गान्धी र मेनका गान्धीको नाम यो लिष्टमा छैन । वरुण सुलतानपुरबाट र मेनका गान्धी पीलीभीतबाट सांसद छन् ।केन्द्रीय मन्त्री नितिन गडकरी नागपुरबाट चुनाव लड्नेछन् ।

 

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्