Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिभिन्न गम्भिर आरोप सहित पूर्व चिकित्सकहरुले जानकी मेडिकल अस्पतालमा तालाबन्दी गरेपछि..

जनकपुरधाम : बाँकी बक्यौता तलबभत्ता नपाएको भन्दै पूर्व चिकित्सकहरुले जनकपुर स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालको काउण्टरमा झण्डै २ घण्टा तालाबन्दी गरेका छन् । धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालको शाखाको रुपमा सञ्चालित जनकपुरको ब्रह्मपुरी स्थित शिक्षण अस्पतालको काउण्टररमा आध दर्जन पूर्व चिकित्सकहरुले तालाबन्दी गरेका हुन् ।

विगतमा काम गरेर छाडेका १ वर्ष वित्न लाग्दा समेत पारिश्रमिक नदिएकाले बाध्य भएर तालबन्दी गर्नुपरेको चिकित्सक डा.कर्मेन्द्र यादवले गुनासो गरे । तालाबन्दी पश्चात अस्पताल व्यवस्थापन पक्षले आफ्ना समर्थकहरुलाई बोलाएर ताल्चा फुटाएका छन् । काउण्टरमा तालबन्दी गरेपछि झण्ड २ घण्टा अस्पतालको सेवा प्रभावित भएको थियो ।

डा.कमेन्द्र यादवले आफ्नो २०६८ यता विभिन्न समयको ९ लाख ५० हजार रुपैयाँ बाँकी रहेको बताए । ‘मैले छोडेको एकवर्ष भइसक्यो । पटक पटक तलबको लागि ताकेता गर्दा ढाट्ने गरेको छ ।’ उनले भने ‘आज हामी बाध्य भएर तालबन्दी गरेका छौं । अस्पताल व्यवस्थापन पक्षले मतलब गरेको छैन । यहाँ आज तालाबन्दी गर्दा गुण्डाहरु बोलाएर धाकधम्की दियो , ताल्चा फुटाए । हामी न्यायको लागि कहाँ जाउ ?’

यस्तै गुनासो छ यस अस्पतालका पूर्व चिकित्सक विपीन झाको । उनले अस्पतालमाथि आफ्नो १ लाख ५० हजार रुपैयाँ तलब बाँकी रहेको बताए । डा. झाका अनुसार अस्पताल छाडिसकेका डा. अनिल मण्डलको २ लाख १५ हजार रहेको छ । यस्तै डा. सम्भु साह, गौतम झा, डा.अस्विनी झा, डा.आशोक अधिकारी, डा. सरोज यादव लगायको अस्पतालमाथि लाखौ पारिश्रमिक बाँकी रहेको बताएका छन् ।

तर अस्पताल व्यवस्थापन पक्ष पटक-पटक आश्वासन दिएर तलब दिने मानसिकतामा नरहेको उनीहरुको गुनासो छ । उनीहरुले आफुहरुको पारिश्रमिक उपलब्ध गराइदिन माग गरेका छन् । यता जनकपुर स्थित शिक्षण अस्पताल व्यवस्थापन पक्षले उनीहरुको तलबको विषयमा आफुहरुलाई थाहा नभएको बताएका छन् ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्