Logo
|| February 26, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को राजधानी जनकपुरको त्यो ठाउँ, जहाँ किन्न पाईन्छ लाइसेन्स

जनकपुरधाम : कार्यालयमा नागरिक बडापत्र राखिएको छैन। खानेपानीका लागि बनाइएको कल बिग्रिएको छ भने लेखाफाँट अगाडि सेवाग्राही उभिने झ्यालमाथि बिजुलीका तार असरल्ल छ। कार्यालय डुंगडुंगी गन्हाएको छ । चुरोट, पानपराग, गुटखा र मदिराका बोतल छरपस्ट भेटिन्छन्। गुटखाको पिकले पर्खाल कुरुप बनेका छन् । कार्यालय प्रमुख श्यामकुमार सिंहको कार्यकक्ष अगाडि इलोक्ट्रोनिक हाजिरी मेसिन राखिएको छ। तर, त्यसले काम गर्दैन। कार्यालय प्रमुख पनि बाहिरै थिए।

यो अवास्था हो जनकपुरस्थित यातायात व्यवस्था कार्यालयको । ‘तपाई सीसी क्यामेराको निगरनीमा हुनुहुन्छ’ जनकपुरस्थित यातायात व्यवस्था कार्यालयभित्र चारैतिर लेखिएको छ। सानो अक्षरमा लेखिएको ‘दलालदेखि सावधान’ वाक्य भने केरमेट गरिएको छ। सेवाग्राहीले प्रस्ट देख्ने गरी लेखा फाँट, राजस्व तोक्ने काउन्टरको दाहिनेतर्फ अख्तियारको सूचना छ, ‘राष्ट्रसेवक कर्मचारीले घुस÷रिस्वत मागेमा ९८५४०३१४५६ र ०४४-५५०६६८ मा फोन गर्नुहोला।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयमाथि निगरानी बढाएपछि बिचौलिया र कर्मचारी तर्सिएका छन्। तर, उनीहरूले घुस खान छाडेका छैनन्। घुस माग्ने नयाँ-नयाँ उपाय प्रयोगमा ल्याइरहेका छन्। पहिला कर्मचारी सेवाग्राहीसँग हाकाहाकी घुस माग्थे। टेबुलमुनिबाट लिन्थे। घुस नदिए फाइल नै अड्काइदिन्थे। यातायात कार्यालय सीसी क्यामेराको निगरानीमा आएपछि कार्यालय परिसरबाहिरबाटै घुस सेटिङ हुन्छ। कार्यालय प्रवेशद्वारमा भेटिएका बिचौलिया भन्दै थिए ‘अब भित्र घुस चल्दैन, सीसी क्यामेरा जडान भएको छ।’

बाहिरै सेटिङ

आइतबार बिहान ९ :५७ मा जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलियास्थित यातायात कार्यालय वरपर सेवाग्राहीको घुइचो लागिसकेको थियो। कार्यालयको मुख्य गेटवरिपरि टेबल, केही फारम, हुलाक टिकट र फोटोकपी मेसिन राखेर खुद्रा पसले ग्राहक कुर्दै थिए।लाइसेन्स, ब्लुबुक नवीकरण, सवारी नामसारीलगायत काममा चाहिने फारम अड्डामा सहजै उपलब्ध हुनुपर्छ। तर, यी फारम सेवाग्राहीले कार्यालयभित्र पाउँदैनन्। बाहिरका पसलमा पाइन्छ। यी फारमबाटै सुरु हुन्छ बिचौलियाले सेवाग्राही ठग्ने कार्य।

मोटरसाइकलमा आएका सेवाग्राहीलाई बिचौलियाले बीचैमा बाटो छेक्छन्। बिचौलियाले सेवाग्राहीलाई के काम हो भन्दै हातै समातेर आफ्नो टेबुलतिर लान्छन्। १० बजे कार्यालयअगाडिको चिया पसलमा एकजना बिचौलियाले दुई जना सेवाग्राहीलाई फकाउँदै थिए। धोती, कुर्ता र गम्छा भिरेका ५५ वर्षीयजस्ता देखिने सेवाग्राही पनि निकै हतारमामा देखिन्थ्ये। ‘हम्मर काम जल्दी करादा, बेटाके विदेश उडेके है’, मैथिली भाषामा ति सेवाग्राहीले भने। यसको अर्थ हो ‘मेरो काम छिटो गरी दिनुस्, छोरो विदेश उड्दै छ।’

ती सेवाग्राहीले भने, ‘मेरो छोरा काठमाडौंमा छ, लाइसेन्सको लिखितमा बस्ने समय छैन।’ बिचौलियाले त्यसको उपाय तुरून्तै निकाले र भने, ‘जाँचमा अर्कैलाई बसाउँला र टिक लगाउँला।’ उनीहरू चिया खाएर कार्यालयतर्फ हिँडे। एउटा बिचौलियाले ग्राहक फेला पारेपछि नजिकैको अर्कोले भन्यो ‘तै ले त पाइस है आज।’ ११ :०७ मा सिन्धुलीको दुधौलीका हेमबहादुर सुनवार कार्यालय परिसरमै बिचौलिया पर्खिरहेका थिए।

लाइसेन्स बनाइदिनका लागि गाउँका एकजना भाइमार्फत जनकपुरका बिचौलियालाई उनले सम्पर्क गरेका थिए। सात दिनअघि नै बिचौलियासँग २० हजार तिर्दा लाइसेन्सको काम गराइदिने कुरा तय भएको थियो। बिचौलियालाई उनी चारैतिर खोजी राखेका थिए। उनले भने, ‘नाम थाहा छैन, फोनबाटै सम्पर्क भएको हो। २० हजार लिएर आऊ लाइसेन्स बनाइदिन्छु भन्या छु।’ उनले भाइमार्फत ति बिचौलियालाई १० हजार तिरिसकेका छन्।

कर्मचारीको रुखो व्यवहार

बिहान १० :०२ मा यातायात कार्यालय पुग्दा कार्यकक्ष रित्तै थिए। १० :०७ मा बल्ल लाइसेन्स प्रतिलिपि नवीकरण फाँटमा एकजना कार्यालय सहयोगी आइपुगे। उनलाई सोध्दा १० :३० देखि मात्रै काम हुने बताए। सेवाग्राही दिनेश साहले कार्यालय सहयोगीलाई सोधे ‘सर, अब कतिखेर काम सुरु हुन्छ।’ सेवाग्राहीको प्रश्न सुन्नेबित्तिकै साह उनीमाथि खनिए। कडा स्वरमा उनले भने ‘बाहिर निस्किनुस्, १० :३० मा काम सुरु हुन्छ।’

सेवाग्राही त्यहाँबाट बाहिरिएनन्। कार्यालय सहयोगीले चेतावनी दिँदै भनेर्, निस्किनुस् नत्र भित्रै थुन्दिदिन्छु।’ ढोकामा ताल्चा लगाएर फाँट बन्द गरेर उनी हिँडे। १० :१० मा यातायात कार्यालयको ढड्डा कक्षको ताचा खुल्यो। कर्मचारी फाँट प्रवेश गरे। सेवाग्राही लामबद्ध थिए। पहिला मेरो काम गरिदिनुस् सर भन्दै सेवाग्राही तँछाड-मछाड गर्दै थिए। ‘कम्प्युटर खुल्दै छ, पख्नुस्’ भन्दै कर्मचारीले १० मिनेट लगाए।

काम सुरु गरेका कर्मचारीले लाम लागेका सेवाग्राहीलाई प्राथमिकता दिए, टेबुल तलबाट बिचौलियाको फाइल पनि क्रमैसँग भित्र पस्न थाले। कर्मचारीसँग राम्रो चिनजान भएका बिचौलिया तिनलाई सर, दाइभाइ भन्दै फाइल थमाइराखेका थिए। दुईजना सेवाग्राहीको काम हुँदा एकजना बिचौलियाको फाइलमा पनि सही गर्न कर्मचारी भ्याइराखेका थिए।

१० :२० मा एक जना बिचौलिया फाइल लिएर राजस्व बुझाउन बैंक काउन्टरको उत्तरपट्टीको झ्यालमा पुगे। पूर्वतर्फको झ्यालमा राजस्व बुझाउने सेवाग्राहीको ठूलो लाम थियो। बिचौलिया पुगेको झ्याल महिला सेवाग्राहीका लागि व्यवस्था गरिएको छ। महिला सेवाग्राहीमा निकै कम थिए। बिचौलियाले त्यो झ्यालबाट काम फटाफट सक्छन्।

कार्यालय हातामा मदिराका बोतल

सरकारी कार्यालयको हाताभित्र मद्यपान, धूमपान, गुट्खा, चुरोट, बिँडी, खैनी सेवन निषेध छ। कार्यालयमा यी विषय बर्जित गरिएको सूचनानै टाँसिएको छ। तर, कार्यालयका अधिकांश कर्मचारी खैनी, गुटखा र पान नचपाई काम गर्दैनन्। सरकारी पोशाकमा ठाँटिएका एक कर्मचारी १२ :४५ मा कार्यकक्षबाट निस्किए। ४० वर्ष जतिका देखिने ती कर्मचारी एकजना बिचौलियाले परिसरमै सुर्ती खाइराखेको देखे। उनी त्यहीं पुगे।

हात बढाउँदै मैथिलीमा भने, ‘कनि हमरो लागि। (मेरो लागि पनि)।’ त्यहाँका अधिकांश कर्मचारी माझ लोकप्रिय ती बिचौलियाले जिस्ँिकदै भने, ‘पत्रकारको अघि खैनी खाने हो ? ’ कर्मचारी मुसुक्क मुस्काए। खैनी लिएर कार्यकक्षतर्फ गए। मूलगेट भित्रैसम्म जताततै गुट्खा, पानपरागको खोल र चुरोटका ठुटा फालिएका छन्। गुटखा र पानपरागको पिकले नरंगिएको पर्खाल छैनन्। चारतल्ले भवनको भर्‍याङको कुना र कार्यकक्षमै पानपराग खाएर कर्मचारी र सेवाग्राहीले पिक थुक्छन््। कार्यालयको मुख्य गेटमा उत्तरतर्फको कुनामा थुकिएको खकार र फोहोरले घीनलाग्दो छ।

स्मार्ट लाइसेन्स लिन आउने नामावली टाँस गरिएको कम्पाउण्डको पूर्वपट्टीको पर्खालमा फोहोर पन्छाउँदै सेवाग्राहीले नाम खोज्नुपर्छ। सिसा, थोत्रो टिन, सवारी साधनका पार्टपुर्जाले कतिको खुट्टा काटिन्छ कति त्यसमा अल्झेर लड्छन्। नजिकै कार्यालयका पुराना फर्निचर पनि थन्क्याइएका छन्। थोत्रा सामान थन्क्याएको ठाउँमा मदिराका खाली बोतल पनि छन्।

कार्यालय परिसरभित्रका तीनवटा डस्टबिन आधा खाली नै थिए। तर, परिसर भने फोहोरले भरिएको छ। कार्यालयभित्रै फोहोर थुपारेर जलाइन्छ

स्मार्ट लाइसेन्सको दु :ख

सिरहाको चोहर्वाका ५७ वर्षीय कर्णबहादुर श्रेष्ठ ३ :३० देखि ५ बजेसम्म स्मार्ट लाइसेन्सको नामवलीमा छोराको नाम खोज्न व्यस्त थिए। छोरा प्रेमबहादुरले एक वर्षअघि स्मार्ट लाइसेन्सका लागि अनलाइन फार्म भरेर लिखित परीक्षा पास गरेका थिए। तर, उनको नाम खोज्न श्रेष्ठलाई सास्ती पर्‍यो। कार्यालय परिसरको पर्खालमा सातदेखि आठ फिटमाथि टाँसिएको नामावली सूचीमा नाम खोज्न उनलाई हम्मेहम्मे पर्‍यो।

थोत्रो टिनको बाकस चढेर डेढ घण्टादेखि प्रयत्न गरे पनि निकै सानो अक्षरमा प्रिन्ट गरिएको सूचीमा उनले छोराको नाम खोज्न सकेनन्। निरास भएर उनी घर पर्के। विभागको ३१००३ बाट आएको म्यासेजमा भने प्रेमको लाइसेन्स प्रिन्ट भइसकेको उल्लेख छ। तर, कार्यालयको सूचीमा भने उनले नाम भेटेनन्।

पोखराका खेमराज पराजुलीले पनि एक वर्षअघि जनकपुर आएर स्मार्ट लाइसेन्सका लागि फारम भरेका थिए। उनलाई पनि विभागबाट लाइसेन्स प्रिन्ट भएको म्यासेज आएको थियो। उनले भने, ‘कर्मचारीलाई सोध्दा लिस्ट हेर्नु भन्छन्, लिस्ट हेर्दा नामै भेटिँदैनन्।’ लाइसेन्स लिनकै लागि पोखरादेखि जनकपुर आएका उनले थपे, ‘यो देश कसले चलाइरहेको छ पत्तै लाग्दैन, जहाँ पनि दुखै दु :ख।’

कर्मचारीको असहयोगका कारण स्मार्ट लाइसेन्सका लागि आउने सेवाग्राही हैरान भएर फर्कनुपरेको छ। बिचौलियासँग साँठगाँठ भएर आएको फाइलमा कर्मचारीले चासो देखाउँछन्। लिस्टमा नाम खोजेर बिचौलियाकै जिम्मा लगाइदिन्छन्। तर, सेटिङ नभएकासँग कुरा गर्न पनि कर्मचारी मान्दैनन्।

गन्हाउने शौचालय

दिउँसो २ बजेतिर अमित बम्जन र उनका साथी मुखमा मास्क लगाएर स्मार्ट लाइसेन्स वितरण गर्ने कक्षको झ्यालअगाडि उभिएका थिए। एक घण्टा उभिँदा पनि लाइन अघि बढेन। लाइसेन्स नवीकरण गराउन सिन्धुलीको महादेवस्थानबाट आएका उनलाई लाइनमा बस्न निकै सास्ती भइरहेको थियो। लाइसेन्स वितरण र नवीकरणका लागि कार्यालयको पश्चिमपट्टि व्यवस्था गरिएको झ्यालनजिकै शौचालय छ। शौचालयमा जथाभावी दिसापिसाब गरिएको छ। शौचालयको दुर्गन्ध सेवाग्राहीलाई खपी सक्नु छैन।

अमितसँगै सोलुखुम्बु दूधकोसी थुलुंग गाउँपालिकाबाट जनकपुर आएका डिल्ली रायले पनि दुर्गन्धबाट बच्न मास्क लगाएका थिए। शुक्रबारदेखि नै काम गराउन उनीहरू कार्यालय धाइरहेका छन्। ‘कार्यालयले दिने दु :ख र दुर्गन्धको सास्ती भनि साध्य छैन्’, उनले भने, ‘के भन्ने, कसलाई भन्ने, कति जनालाई भन्ने, भन्ने ठाउँ नै छैन।’ भन्दा सुध्रिने पनि होइन भन्दै उनले कार्यालयको सेवाप्रति निराशा व्यक्त गरे। अमितले भने, ‘सरकारी कार्यालयमा यो टाइममा हिँड्छु यो टाइममा काम सिध्याएर फर्कन्छु भनी नसोचे हुन्छ।’

गत शुक्रबार कार्यालयबाहिरै एक जना बिचौलियाले छिटो काम गराइदिने भन्दै ५ सय घुस लिएका थिए। तर, ती बिचौलियाले काम गराउन सकेनन्। उनीहरू आइतबार आफैं काम गराउन लागिपरे। निकै सास्तीपछि ४ :१९ मा काम सकेर फर्के। कार्यालय आउने सेवाग्राहीका लागि शौचालयको व्यवस्था गरिए पनि ती अति नै फोहोर छन्। कार्यालयभित्रका शौचालयमा सवारीसाधनका पार्टपुर्जा थन्क्याइएका छन्।

भद्रगोल कागजपत्र

धनुषा बालाबाखरका अनिरुद्र राय यादव २ :४७ बजे यातायात कार्यालय परिसरभित्र ढड्डा पल्टाइरहेका थिए। बिलबुक हराएका उनले प्रतिलिपि लिन तीन दिनदेखि कार्यालय धाए ढड्डामा नाम फेला पारेनन्। उनको सवारी साधनको रेकर्ड कत्तै भेटेन। कार्यालयको अभिलेख फाँटमा दुई घण्टासम्म आफैंले फाइल पल्टाए तर, भेटेनन्। यादव फाइल बोकेर परिसरमा भौतारिरहेका थिए। कर्मचारीले रेकर्ड खोज्न उनलाई सहयोग गरेनन्।

कर्मचारीले यादवसँग चियापानीका लागि खर्च दिए रेकर्ड खोजिदिने प्रस्ताव राखेका थिए। तर, कर्मचारीलाई दिन उनीसँग पैसा थिएन। उनले भने, ‘यातायातको काम त खत्तम छ।’ कार्यालयको अभिलेख फाँटमा कागजपत्र भद्रगोल छन्। तेस्रो तल्लाको चारवटा कोठा फाइलले भरिभराउ छ। फाइल राखिएका कोठाका झ्याल खुल्लै छन्। पानी पर्दा सबै भिज्छ। कागजपत्र भद्रगोल छाडिँदा रेकर्ड खोज्न सास्ती हुन्छ।

दबंग कार्यालय सहयोगी

‘अन्य सरकारी अड्डाका कार्यालय सहयोगीले पानी ल्याउने, कार्यालय सफा गर्ने, फाइल यताउता लाने गर्छन् तर यातायातमा यिनको दबंग चल्छ’, एक कर्मचारीले भने, ‘यहाँका कार्यालय सहयोगीको धाक हाकिमले पनि मान्छन्।’ कार्यालयमा ६ जना कार्यालय सहयोगी छन्। थप चार जना करारका छन्। तर, कार्यालयमा उनीहरू काम भन्दा पनि बिचौलियासँग सेटिङ मिलाउन व्यस्त हुन्छन्।

दुई वर्षअघि जनकपुरको मुख्य बजारमा यातायात कार्यालय थियो। सेवाग्राहीमैत्री बनाउन तीन किलोमिटर उत्तर-पश्चिम मुजेलिया सारियो। दुई वर्षको अन्तरालमा कार्यालयका सात प्रमुख फेरिए। तर, बिचौलिया र कार्यालय सहयोगी भने पुरानै छन्। चिया पिउँदै गरेको अवस्थामा भेटिएका एकजना कर्मचारीले भने, ‘यहाँ कार्यालय प्रमुख भन्दा पनि बिचौलिया र पियन ठूलो छन्।’ कार्यालय प्रमुखले के कार्यालय चलाउनु, आफिस त यिनीहरूले चलाउँछन्। ती कर्मचारीले भने, ‘हाकिम फेरिन्छन् तर, यिनीहरू कहिल्यै फेरिँदैनन्।’

बिचौलिया निषेध दाबी मात्रै

यातायात कार्यालयमा २४ जना कर्मचारीको दरबन्दी छ। करारमा पाँच जना कार्यरत छन्। दरबन्दीअनुसार कर्मचारी भए पनि कार्यालय बिचौलियाकै भरमा चलेको छ। कार्यालयका प्रशासन फाँटका खरिदार डिल्लीराम निरौला भन्छन्, ‘बिचौलियालाई हामीले फाँटमा पस्न निषेध गरेका छौं।’ सेवाग्राहीले उनीहरूसँग काम लिए पनि तिनको काम प्राथमिकतामा नपर्ने निरौला दाबी गर्छन्। उनी भन्छन्, ‘प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, लेखपढ गर्नुपर्छ सबै सेवाग्राही सचेत र शिक्षित छैनन्।’ सेवाग्राही पहिलो प्राथमिकतामा रहेको निरौला बताउँछन्।

कार्यालयको शौचालय सफा गर्न मेस्तरहरू राखिएको उनको दाबी छ। उनी भन्छन्, ‘जनतामा चेतनाको अभाव छ, शौचालयमा बोतल थुपार्छन्, कसले निगरानी गरिराख्छ यसमा।’ १० हजार स्मार्ट लाइसेन्स विभागले पठाए पनि त्यो व्यवस्थित छैन।कार्यालय समय १० देखि ५ निर्धारित भए पनि अन्नपूर्ण टोली ५ :३० सम्म कार्यालय परिसरमा बस्दा बिचौलिया र कर्मचारी कार्यकक्षमै थिए। कर्मचारीले बिचौलियाको काम गरिरहेका थिए।

विदेशबाट कमाएर बिचौलियालाई घुस

चितवन कोराक-७ नारायणीका २० वर्षीय होमबहादुर बल स्मार्ट लाइसेन्स लिन जनकपुर आएका थिए। शनिबार जनकपुर आएका उनी आइतबार १० :३८ मिनेटमा यातायात कार्यालयमा भेटिए। उनीसँगै विरबहादुर तामाङ पनि थिए। उनलाई पनि लाइसेन्स लिनु थियो।यातायात कार्यालयबाट बिचौलिया चिन्टु यादवलाई फोन गरेका थिए। केही बेरमै कार्यालय गेटअगाडि बिचौलिया चिन्टु आइपुगे। उनी बलमाथि निकै आक्रोशित देखिन्थ्ये। उनले बललाई भने, ‘एक वर्षअघि नै तय गरेको पैसा खोइ, लाइसेन्स कसरी दिन्छु।’

बिचौलिया चिन्टुले बललाई जथाभावी गाली गरे। उनले भने, ‘यहाँ सडकमा सुताएर कुट्छु, तलाई कसले बचाउँछ म पनि हेर्छु।’ अघिल्लो चैतमा बल, तामाङ र हस्त लामाले सँगै स्मार्ट लाइसेन्स बनाउन फारम भरेका थिए। उनको गाउँकै एकजना दाइले बिचौलिया चिन्टुमार्फत जाँदा चाँडै लाइसेन्स बन्ने सुझाएका थिए। जनकपुर आएर ट्रायल सेन्टरमा तीनै जनाको चिनजान चिन्टुसँग भयो। चिन्टुले सबै सेटिङ मिलाउने भन्दै सरकारी दस्तुरबाहेक २५-२५ हजार रकम लिएर लाइसेन्स बनाइदिने डिल गरे भन्दै अन्नपूर्ण पोष्टमा समाचार छ ।

बल र वीरले बिचौलिया चिन्टुलाई रकम बुझाएर तर उनका साथी हस्तको १५ हजार बाँकी रह्यो। लाइसेन्स दुई महिना नै प्रिन्ट भएर आयो। हस्तको बाँकी पैसा दिए मात्रै लाइसेन्स दिने चिन्टुले धम्की दिए। एक घण्टासम्म बल र वीरले चिन्टसँग हारगुहार गरे। तर, उनले सुनेनन्। बलले मोबाइल बिचौलियालाई दिने निर्णय गरे।

चिन्टुले सबै प्रकरण हेरिरहेको थाहा पाएपछि बललाई लाइसेन्स दिएर ज १० प १० नम्बरको मोटरसाइकलमा चढेर त्यहाँबाट फरार भए।उनले जाँदाजाँदै भने, ‘वीर, म तिम्रो लाइसेन्स सात दिनपछि पठाइदिन्छु। तर, हस्तेलाई भन्दे पैसा पठाइदिन। प्रहरीमा मेरै मान्छे छन्, खोसेर ल्याउन भन्छु।’

प्रकाशित मिति: १४ फाल्गुन २०७५, मंगलवार १३:२२

प्रतिक्रिया दिनुहोस्