Logo
२८ बैशाख २०८१, शुक्रबार
(February 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राससको प्रस्तावनाप्रति प्रदेश सरकार गम्भीर, सञ्चार क्षेत्रलाई अङ्कुश नलगाउने प्रतिबद्धता

जनकपुरधाम : प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले राससबाट आएको प्रादेशिक अवधारणासहितको प्रस्तावनालाई गम्भीररुपमा लिएको बताएका छन् । राससको ५८औँ वार्षिकोत्सवको अवसरमा प्रदेश नं २ को राजधानी जनकपुरधाममा आज आयोजित “सङ्घीय संरचनामा राससको भूमिका” विषयक अन्तक्र्रिया कार्यक्रममा उनले राससलाई सङ्घीय संरचनाअनुसार कसरी अगाडि बढाउनेलगायतका सुझावसहितको प्रदेश सरकारलाई बुझाएको प्रस्तावनाप्रति सरकार गम्भीर रहेको बताए।

मन्त्री यादवले प्रदेश सरकारबाट सदनमा दर्ता गराइएको सञ्चारसम्बन्धी विधेयकमा यस प्रस्तावलाई समेट्ने प्रयास गरिएको उल्लेख गर्दै प्रदेश सरकार राससका लागि छुट्टै विनियमावली बनाएर अघि बढ्ने बताए । विभिन्न पक्षबाट व्यापक छलफल गरेर सरकारले संसद्मा सञ्चारसम्बन्धी विधेयक दर्ता गराएको र फागुन १५ गते बस्ने प्रदेशसभा बैठकमा यसलाई प्रस्तुत गरिने जानकारी दिँदै फागुन मसान्तभित्रै सो विधेयक पारित गराएर प्रदेशस्तरीय प्रेस काउन्सिल स्थापना गर्ने बताए ।

मन्त्री यादवले सञ्चार क्षेत्रलाई स्वतन्त्र र निष्पक्ष बनाउन प्रदेश सरकारले कुनै अङ्कुश नलगाउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चार क्षेत्र बलियो भए मात्र सङ्घीय र प्रदेश बलियो हुने भएकाले सञ्चार क्षेत्रलाई बलियो बनाउन प्रदेश सरकारले सञ्चारसम्बन्धी विधेयक ल्याउन लागेको स्पष्ट पारे । जनताले सोेचेकोजस्तो प्रदेश सरकारले काम गर्न नसके पनि विकासको चार चरणमध्ये महत्वपूर्ण चरण हलचलको चरणबाट माथि उठेर कानून बनाउने चरणसम्म पुगेको कुरालाई उपलब्धिको रुपमा लिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विकासका लागि सबैभन्दा महत्वपूर्ण र जग हाल्ने चरण हलचलको चरण हो, त्यसलाई प्रदेश सरकारले पार गरिसकेको छ, अब कानून बनाएर अघि बढ्ने हो । त्यसपछि विकास र समृद्धिले गति लिन्छ ।”

प्रहरी र सुरक्षाको विषय प्रदेश सरकारको अधिकारको विषय भएको संविधानले नै सुनिश्चित गरिसकेको अवस्थामा प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारभन्दा शक्तिशाली बनाउन खोजेको आरोप लगाउँदै मन्त्री यादवले यसबाट सङ्घीय सरकारले प्रदेशको अधिकार खोसेर सङ्घीयतालाई कमजोर बनाउन खोजेको आरोपसमेत लगाए।

कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपालीले समयसापेक्ष रुपमा राससले पनि आफ्नो सेवामा स्तरीयता बढाउँदै जानु आवश्यक रहेको बताउँदै राससले सरकार र जनताबीच पुलको भूमिकामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले सरकार र नेताको मात्र होइन, गाउँका निमुखा, उत्पीडित समुदायको समेत समस्यालाई राससले प्राथमिकता दिनुपर्ने सुझाव दिदैं जनताको सवाललाई गहनरुपमा उठाउन सकिए राससको अगामी यात्रा सहज हुँदै जाने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: Feb 19, 2019

प्रतिक्रिया दिनुहोस्