Logo
६ चैत्र २०८०, मंगलबार
(February 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थायी राजधानी र नामाकरण सिफारिस गर्न प्रदेश ५ का १२ जिल्लाबाट सुझाव संकलन गरिदै

बुटवल : मंगलबार बसेको समितिको वैठकले प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समिति सरोकारवाला पक्षको राय सुझाव लिन प्रदेश ५ का १२ वटै जिल्लामा जाने भएको छ । समितिमा रहेका १५ जना सदस्यहरु ६ वटा टोलीमा बाँडिएर फागुन ९ गतेदेखि जिल्लामा जाने निर्णय गरेको हो ।

टोलीले जिल्लामा पुगेर राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि,नागरिक समाज, पत्रकार, निजी क्षेत्रलगायतका संघसंस्थासंग रायसुझाव लिने छ । स्थायी राजधानीका ८ वटा र नामाकरणका लागि ३ वटा प्रश्न रहेको फारम तयार गरिएको विशेष समितिका सभापति दीपेन्द्रकुमार पुनले जानकारी दिए । जसमा प्रशासनिक सुगमता कस्तो, भूमि व्यवस्था कसरी गर्ने, भूमि संकेन्द्र (ल्याण्ड पुलिङ) कस्तो हुने,जनघनत्व र वातावरणीय अनुकुलता, सामरिक सुरक्षा, भौगोलिक अनुकूलता, कुन ठाउंमा राख्दा उपयुक्त होला र अन्त्यमा तपाईको केही सुझाव छ कि सहित ८ वटा प्रश्न रहने छन् ।

नामाकरणका लागि ऐतिहासिक पहिचान,भौगोलिक पहिचान र सांस्कृतिक पहिचान मध्ये कुनलाई आधार मानेर प्रदेशको नाम राख्दा उपयुक्ता होला भनी तीनवटा प्रश्नको उत्तर सोधिने सभापति पुनले बताए । फागुन १८ गतेसम्म सबै जिल्लाबाट रायसुझाव लिएर ती सबै जिल्लाका सुझावहरुलाई कम्पाइल गरी तयार प्रतिवेदनलाई भुगोलविद्, सुरक्षाविद् र मौसमविद्बाट रायसुझाव लिएर अन्तिम प्रतिवेदन बनाई प्रदेश सभामा पेश गरिने सभापति पुनले बताए ।

जिल्लामा राय सुझाव लिन गठित टोलीहरु मध्ये रुपन्देही र नवलपरासी पश्चिममा सरस्वती गौतम र तेजबहादुर वली,कपिलवस्तु र अर्घाखांचीमा तारा जीसी र वैजनाथ कलवार, गुल्मी र पाल्पामा बाबुराम गौतम, सहसराम यादव र भुवनेश्वर चौधरी,दाङ र प्युठानमा निर्मला क्षेत्री,नारायण आचार्य र कल्पना पाण्डे,बांके र बर्दियामा विष्णु पन्थी र तुलसी चौधरी तथा रुकुम र रोल्पामा बिरबहादुर राना र दिनेश पन्थी जाने तय भएको समितिका सदस्य विष्णु पन्थीले जानकारी दिए ।

विशेष समिति गठन भएको शुरुको तीन महिनासम्म संयोजक नै तोक्न नसकी म्याद गुज्रेपछि तीन महिना म्याद थपिएको थियो । समितिमा सबै जिल्लाको प्रतिनिधित्व नभएको आवाज उठेपछि उक्त समितिका सदस्यहरु हेरफेर गरिएको छ । सम्बन्धित राजनीतिक दलहरुको सिफारिसका आधारमा बिशेष समितिमा रहने सदस्यहरुको नामावली हेरफेर भएको थियो ।

बिशेष समितिमा रहेका रुपन्देहीका अष्टभुजा पाठकको ठाउँमा नवलपरासीका बैजनाथ कलवार,अर्घाखाँचीका चेतनारायण आचार्यको ठाउंमा बांकेका बाबुराम गौतमलाई र बर्दीयाका दिपेश थारुको ठाउँमा रुकुमका तेजबहादुर वलीलाई राखिएको थियो । विशेष समितिमा जिल्लागत प्रतिनिधित्व नभएको भन्दै बाँके,रुकुम र नवलपरासीका सांसदहरुले प्रदेशसभामा पटकरपटक आवाज उठाउदै आएका थिए ।

प्रदेश ५ को स्थायी राजधानीमा हालको अस्थायी राजधानी बुटवल र दाङबारे सत्तारुढ दलकै शीर्ष नेताहरुबीच विवाद छ । यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको थियो । स्थायी राजधानी र नामाकरण प्रदेशसभाको दुई तिहाई वहुमतले निर्णय गर्नुपर्ने संंवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: Feb 18, 2019

प्रतिक्रिया दिनुहोस्