Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रस्तावित ५ संवैधानिक आयोगकाे सुनुवाइ : अन्सारीविरुद्ध मात्रै चार उजुरी

काठमाडौं : प्रस्तावित पाँच संवैधानिक आयोगका अध्यक्षमध्ये मुस्लिम आयोगका समिम अन्सारीविरुद्ध मात्रै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । प्रस्तावित चार अध्यक्षविरुद्ध भने एउटा पनि उजुरी परेको छैन ।

संसदीय सुनुवाइ समितिमा परेका उजुरीका विषयमा छलफल गर्न आइतबार समितिकाे बैठक बाेलाइएकाे छ । बैठकमा छलफल भएपछि पहिलो चरणमा उजुरीकर्तालाई बोलाउने र त्यसपछि प्रस्तावित व्यक्तिलाई बोलाएर छलफल गरिने समितिले जनाएको छ ।

समितिका सचिव ध्रुवप्रसाद घिमिरेले आइतबारका लागि समिति बैठक बोलाइएको जानकारी दिए । सुनुवुाइ प्रक्रिया अघि बढाउने विषयमा समिति बैठकमा छलफल हुने उनले बताए ।

संसदीय सुनुवाइ समितिका अनुसार मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष अन्सारीविरुद्ध मात्रै चार उजुरी परेको छ । समितिसमक्ष परेको चारवटै उजुरी अन्सारीविरुद्धका छन् ।

अन्सारीको शैक्षिक योग्यताको प्र्रमाणपत्रमा प्रश्न उठाउँदै समितिसमक्ष उजुरी परेको छ । भारतबाट स्नातक उत्तीर्ण गरेको भनी अन्सारीले प्रस्तुत गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको दावीसहित शैक्षिक प्रमाणपत्र छानविन हुनुपर्ने माग उजुरीमा उल्लेख भएको समिति स्रोतले जनाएको छ । त्यसैगरी अन्सारीकाे नागिरक्ताबारे समेत उजुरी परेकाे छ ।

संवैधानिक परिषद्ले गत माघ ६ गते पाँच संवैधानिक आयोगका अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको थियो । परिषद्ले मुस्लिम आयोगमा अन्सारी, राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेशी आयोगमा डा. विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीलाई सिफारिस गरेको थियो ।

पाँचैजनाको सिफारिस आएपछि संसदीय सुनुवाइ समितिले सार्वजनिक रुपमा उजुरी आह्वान गरेको थियो । उजुरीको म्याद समाप्त भएको छ । उजुरी दिने अन्तिम म्यादसम्ममा अन्सारीविरुद्ध मात्रै चारवटा उजुरी परेको हो ।

 

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्