Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयरको भुक्तानी लिन वा दिनका लागि ब्रोकर धाउनु नपर्ने

सेयर किनबेच गरेको रकम भुक्तानी लिन वा दिनका लागि ब्रोकर कार्यालय जानु नपर्ने भएको छ । सेयर किनेको रकम बैंक खाताबाटै कटौती हुने भएको छ भने बेचेको रकम बैंक खातामै जम्मा हुने भएको छ ।

अनलाइन सेयर कारोबार सुरु भएको करिब २ महिनापछि स्टक एक्स्चेन्जले यस्तो व्यवस्था गर्न लागेको हो । एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीका अनुसार अनलाइन प्रणालीमा बैंकिङ प्रणाली आवद्ध गरी मंगलबारदेखि कारोबार हुनेछ । चार वटा क्लियरिङ बैंकहरु मात्रै यस प्रणालीमा जोडिने छन् ।

अर्थात लगानीकर्ताले यसका लागि क्लियरिङ बैंकमा खाता खोल्नु पर्ने छ। हाल ४ वटा बैंकहरुले क्लियरिङको काम गर्दै आएका छन्। सिद्धार्थ, प्रभु, इन्भेष्टमेन्ट र ग्लोबल आइएमई बैंकमा छुट्टै खाता खोलेर सो खातामार्फत लगानीकर्ताले कारोबार गर्न सक्ने पराजुलीले बताए।

‘तिमध्ये कुनै बैंकमा छुट्टै खाता खोलेर सोही खातामार्फत कारोबार गर्न सकिनेछ, पछि क्लियरिङ बैंकहरु थपिएपछि अन्य बैंकहरुले पनि यो सेवा दिने छन् ।’खाता खोलिसकेपछि ब्रोकर कार्यालयसँग रकमान्तर व्यवस्था मिलाउनुपर्नेछ ।

हाल एसी चेकमार्फत ब्रोकर कार्यालयलाई सेयर किनेको रकम दिनुपर्ने व्यवस्था छ । सेयर कारोबारमा विद्युतीय कारोबारको सीमा समेत नतोकिएकाले लगानीकर्तालाई यसमा कुनै समस्या नरहने एक्स्चेन्जले जनाएको छ । अर्थात जति रकमको सेयर किनबेच भएको हो, सो रकम एकै पटक बैंक खातामा जाने छ ।

अनलाइन सेयर कारोबार सुरु भए पनि भुक्तानीका लागि ब्रोकर कार्यालय नै जानुपर्ने बाध्यता भएको भन्दै लगानीकर्ता आक्रोशित बन्दै आएका थिए । डिम्याट खाता र बैंक खातामा अनलाइन प्रणाली आवद्ध गर्नुपर्ने माग लगानीकर्ताले उठाउँदै आएका थिए । सेयर किनेपछि स्वतः डिम्याट खातामा जम्मा हुने व्यवस्था छ भने बेचेपछि स्वतः डिम्याट खाताबाट घट्ने छ ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्