Logo
१३ बैशाख २०८१, बिहीबार
(December 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजदुत पराजुलीलाई पनि फिर्ता बोलाउन सरकारको तयारी

काठमाडौं :  शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले नियुक्त गरेका राजदुतहरु बर्तमान सरकारले धमाधम फिर्ता बोलाउन थालेको छ । यसअघि तीन देशका राजदुत फिर्ता बोलाईसकेको छ । मन्त्रिपरिषद्को बैठकले दक्षिण कोरिया, स्पेन र बंगलादेशका राजदूतहरू क्रमशः अर्जुनजंगबहादुर सिंह, भरतबहादुर रायमाझी र प्रा. डा. चोपलाल भूषाललाई तीन हप्ताको तयारी म्याद दिई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा केही नेताहरुले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई ओमनका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकाललाई फिर्ता बोलाउन दबाब दिएका छन् । स्रोतका अनुसार केही नेताहरुले राजदुत पराजुलीको नाम नै लिएर मन्त्री ज्ञवालीलाई कहिले फिर्ता बाउनुहुन्छ भनेर सोधेका थिए ।

जवाफमा ज्ञवालीले यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भैरहेको जानकारी गराएका थिए । ज्ञवाली पनि पराजुलीलाई फिर्ता बोलाउने पक्षमा छन् । तर, प्रधानमन्त्री ओली भने पराजुलीलाई तत्काल फिर्ता बोलाउन पक्षमा देखिएका छैनन् ।

तर, स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री ओलीलाई यसबारेमा तत्काल निर्णयमा पुग्न दबाब दिएको खुलासा भएको छ । स्थायी समिति सदस्यहरुको विरोधपछि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पदबाट यसअघि नै राजिनामा दिईसकेका छन् ।

पाँच देशमा राजदुत सिफारिस

मन्त्रिपरिषद्को बैठकले सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्यान्डको राजदूतमा पठाउने निर्णय गरेको छ भने सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग जेनेभा पठाउने सिफारिस गरेको छ। भट्टराईलाई स्वीजरल्यान्डका लागि आवासीय राजदूतको जिम्मेवारी पनि दिइएको छ ।

त्यसैगरी, सहसचिव भृगु ढुंगानालाई क्यानडा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सको राजदूत र सहसचिव दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि राजदूतमा सिफारिस गरिएको छ । सबै सहसचिव परराष्ट्र मन्त्रालयमा कार्यरत छन्। उनीहरूलाई विभिन्न देशका लागि गैर आवासीय राजदूतको पनि जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: Dec 29, 2018

प्रतिक्रिया दिनुहोस्