Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस बर्ष तनहुँमा २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान

दमौली : तनहुँमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान गरिएको हो ।

कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी ज्योति क्षेत्रीले गत वर्ष तनहुँबाट रु १८ करोडको सुन्तला उत्पादन भएकामा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने प्रक्षेपण गरिएको जानकारी दिए । अघिल्लो वर्ष ६ हजार ५२६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष ६ हजार ९३८ मेट्रिकटन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ ।

तनहुँमा यस वर्ष १ हजार २८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । तनहुँमा उत्पादित सुन्तला पोखरा, काठमाडौँ, चितवन लगायतका ठाउँमा निर्यात हुँदै आएको छ । तनहुँको राइपुर, वैदी, छिपछिपे, तनहुँसुर, बेनीकोट, बन्दीपुर, घाँसीकुवा, नाम्सीकोट, भानुमति लगायत सुन्तला खेतीको पकेट क्षेत्र हुन् ।

तनहुँको म्याग्दे गाउँपालिका-२ का विश्वबहादुर अधिकारी र निर्मल अधिकारीले यस वर्ष सुन्तला बेचेर रु ५५ लाख आम्दनी गरेका छन् । संयुक्त रूपमा सुन्तला खेती गर्दैै आएका दुबै जनाले यस वर्ष जिल्लामै सबैभन्दा बढी सुन्तला बिक्री गरेका छन् । सोही ठाउँका शुकनारायण श्रेष्ठले पनि यस वर्ष रु ३१ लाखको सुन्तला बिक्री गरेका छन् ।

भीमाद नगरपालिका-९ का अध्यक्ष इमानसिंह थापाले भानुमतिबाट यस वर्ष रु दुई करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको जानकारी दिए । व्यास नगरपालिका-११ तनहुँसुरमा रु ५० देखि ६० लाखसम्मको सुन्तला उत्पादन हुने अनुमान गरिएको कृषि शाखाका प्राविधिक विश्वराज वाग्लेले बताएका छन् ।

उनका अनुसार व्यास नगरपालिका–१३ वेनीकोटबाट समेत रु एक करोड ५० लाखको सुन्तला उत्पादन हुने लक्ष्य छ ।

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्