Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाका नेताहरु जनकपुरमा योगीलाई भेटिरँदा उपेन्द्र यादव र भारतीय प्रधानमन्त्री मोदीबीच भेटघाट

काठमाडौं : भारत उत्तरप्रदेका मुख्यमन्त्री योगी आदित्यनाथको बुधवार नेपाल भ्रमण र उक्त भ्रमणका क्रममा राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले जनकपुरमा लाइन लागेर भेटिरहँदा मधेशको अर्को घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटघाट गरेका छन् ।

बुधवार योगी जनकपुर आउँदा राजपा अध्यक्ष मंडलका प्राय सबै नेताहरु उनलाई भेट्न त्यहाँ पुगेका थिए भने फोरमका नेताहरुको भने खासै उपस्थिति भने देखिएन ।

प्रदेश नम्बर २ मा फोरम र राजपाको संयूक्त सरकार भएपनि पार्टी उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले नै सबै निर्णयहरु लिने गरेका छन् भने राजापाका तर्फबाट मन्त्री रहेकाहरुले प्राय आ-आफ्ना शिर्ष नेतासंग परामर्स गरेर मात्र निर्णय लिने गरेका छन् ।

उपेन्द्र यादव समेत फोरमका शिर्ष नेताहरु बुधवार जनकपुरमा नदेखिएपछि निकै चियोचर्चा सुरु भएको थियो । प्रदेशमा फोरमको पनि सरकार हो की मात्र राजपाको भन्ने चौतर्फी रुपमा बुधवार चियोचर्चा सुनियो ।

यसैबीच उपप्रधानमन्त्री उपेन्द्र यादवले बुधवार नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका हुन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार नयाँ दिल्लीमा पाटनर्स फोरमको कार्यक्रममा भाग लिन गएका यादव र सोही कार्यक्रममा प्रमुख अतिथी रहेका भारतीय प्रधानमन्त्री मोदीबीच भेटघाट भएको हो ।

स्वास्थ्यसँग सम्बन्धित सो कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी र नेपालका उपप्रधानमन्त्री यादव लगायतले सम्बोधन गरेका थिए । सो कार्यक्रम भोलि विहीबार सम्म चल्ने बताइएको छ । त्यस्तै  उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले भारतीय समकक्षी स्वास्थ्यमन्त्री जेपी नड्डासंग पनि भेटघाट गरेका छन् ।

ठाकुर फर्केपछि उपेन्द्र पुगे दिल्ली

राजपा नेपालका अध्यक्षममण्डलका सदस्य महन्थ ठाकुर दिल्लीबाट फर्किएको ५ दिनपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव दिल्ली गएका हुन् । फोरम नेपालको केन्द्रीय समितिको बैठकले राजपा नेपाललगायत अन्य दलहरुसँग एकीकरणका लागि वार्ता समिति गठन गरेको छ । यता, राजपा नेपालका नेताहरुले सरकारबाट नबाहिरिएसम्म फोरम नेपालसँग एकीकरण हुन नसक्ने बताउँदै आएका छन् ।

त्यस अवस्थामा उपेन्द्र यादव दिल्ली गएका हुन् । स्रोतका अनुसार भारतले राजपा र फोरम नेपालबीच एकीकरण होस् भनि चाहेको छ । नेपालमा तेस्रो शक्ति निर्माणका लागि राजपा र फोरम एकीकरण आवश्यक रहेको भन्दै भारतले यी दुई दलबीचको एकीकरण चाहेको बताइएको छ ।

यसअघि भदौको तेस्रो हप्ता स्वास्थ्यसँग सम्बन्धित एक कार्यक्रममा सहभागि हुन भन्दै दिल्ली गएका अध्यक्ष यादवले भारतीय नेताहरुलाई भेटेर एकीकरणको बारेमा समेत छलफल गरेका थिए । राजपा नेपाल तयार भए आफू एकीकरण गर्न तयार रहने सो क्रममा यादवले बताएका थिए ।

नेपाल फर्केपछि यादवले राजपा नेपालका तत्कालिन संयोजक महन्थ ठाकुरलाई भेटेर पार्टी एकताका विषयमा छलफल गरेका थिए ।त्यसपछि अध्यक्षमण्डलका तत्कालिन सदस्य राजेन्द्र महतोलाई पनि भेटेका थिए । त्यो भेटघाटले केही प्रगति हुन सकेन । यसबीचमा यादवले एकीकरणका लागि वार्ता समिति नै गठन गरे । वार्ता समिति गठन गरेको तीन दिनपछि उनी दिल्ली उडेका हुन् ।

यद्यपि मन्त्री यादवका सल्लाहकार डा.केके राईले यादव मन्त्रालयको कार्यक्रममा गएको त्यहाँ कुनै प्रकारको राजनीतिक भेटघाट नहुने दाबी गरे । मंसिर १६ गते उपचार गराउनका लागि दिल्ली गएका महन्थ ठाकुर २२ गते फर्केका थिए । ठाकुर दिल्लीबाट फर्केकै दिन फोरम नेपालले वार्ता समिति गठन गरेका थियो । ठाकुर उपचारका लागि दिल्ली गएपनि उनी त्यहाँ राजनीतिक भेटघाट समेत गरेका थिए ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्