Logo
१५ बैशाख २०८१, शनिबार
(November 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौरीपालन व्यवसाय फस्टाउँदै, महले भने बजार पाउनै मुस्किल

दार्चुला : दार्चुलामा पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गएको बेला मौरीपालक किसानले भने बजार अभाव हुन थालेको गुनासो गरेका छन् । जिल्लाका लेकम, मालिकार्जुन, मार्मा र ब्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ ।

उत्पादन भएका मौरी घार तथा मह बिक्रीको लागि बजार अभाव भएको व्यावसायिक मौरीपालक कृषक लेकम-१ का गणेशसिंह कार्कीले बताउनुभयो । “सडक सञ्जाल पुगेको छैन्, गाउँबाट आफै मह बोकेर डुल्नुपर्ने अवस्था आएको छ ।” गाउँ/गाउँमा मह खोज्छन् तर घरमै आएर किन्नको लागि बाटो छैन् ।

अहिले मह र मौरी बिक्री गर्न दार्चुलामा मात्र नभएर बैतडीसम्म पुग्नुपर्ने अवस्था छ । कृषक कार्कीले भन्नुभयो, “घरमा मौरी स्याहार गर्ने कि उत्पादित मह बिक्री वितरण गर्ने समस्या भएको छ ।”

घरमा ठाउँ नभएकाले खेतभरी ७५ माहुरी घार छन् । बिहानदेखि बेलुकीसम्म दैनिकी मौरीको स्याहार गर्नमै बित्छ । हालसम्म दुई क्वीन्टल मह बिक्री भयो कार्कीले भन्नुभयो, “अझै मह बिक्री गर्न बाँकी छ, बजार नहुँदा समयमै मह बिक्री गर्न सकिँदैन ।

गाउँमै मह अहिले रु ८०० देखि ८५० प्रतिकिलो बिक्री हुने गर्छ । मौरीबाटै वार्षिक रु १० लाखसम्म आम्दानी हुने गरेको कार्कीले बताउनुभयो । बजारको समस्याले मौरीपालन व्यवसायमा समस्या भइरहेको अर्का व्यवसायी मालिकार्जुन-१ का गौरसिंह बोहराले बताउनुभयो ।

विगतमा गैरसरकारी सङ्घ संस्थाले मौरीको घार र मौरी खरीद गर्थे । अहिले त्यस्ता संस्थाबाट पनि माग आउन छाडेको छ । घरमै वार्षिक ५०/६० घार मात्रै बिक्री हुन्छ ।

अरुण आधुनिक माहुरी घार उद्योग दर्ता गरेर उहाँले अहिले ८२ घार मौरीपालन गर्नुभएको छ । त्यसबाट आम्दानी भए पनि बजार नहुँदा समस्या भइरहेको उहाँले दुखेसो गर्नुभयो । “ सबैले मौरीपालन थालेका छन्, सीमा क्षेत्रकाले अहिले भारतीय बजारमा गएर मह बिक्री गर्नुपर्ने बाध्यता आएको छ”, बोहराको भनाइ छ ।

मार्मा गाउँपालिका–६ का मौरी व्यवसायी नारद महरा मह बिक्रीको लागि मार्मा बजार मात्रै भएको बताउनुहुन्छ । “सानो बजार छ, बाह्य क्षेत्रमा ढुवानी गर्न सके महको मूल्य पाइने थियो”, उहाँले भन्नुभयो ।

मार्माकै हरकसिंह सितोली मौरीपालन व्यवसाय शुरु गर्ने तयारी रहेको सुनाउनुहुन्छ । “मसँग अहिले १० घार माहुरी छन्, एक महीनाभित्र १५ घार थप गर्ने तयारीमा छु ”, उहाँको भनाइ थियो । स्थानीय सरकारले सहयोग गरे व्यवसायको रुपमा दर्ता गरेर जाने उहाँको भनाइ थियो ।

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्