Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामुदायिक विद्यालयमा विद्यार्थीे कम

जितपुर : चार वर्ष पहिले पूर्ण साक्षर घोषणा भएको कपिलवस्तुको वाँणगङ्गा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या भने अत्यन्त न्यून छ । शिक्षा क्षेत्रमा नमूना नगरका रुपमा लिइने यस नगरपालिकाका सात वटा विद्यालयको एउटा कक्षामा १०/१२ जनाभन्दा बढी विद्यार्थी छैनन् ।

जिल्लाका शारदा आधारभूत, मझौवा, जनता आधारभूत पिपरा, वरकटिया आधारभूत बनगवा, जनकल्याण आधारभूत बालापुर, कोठीनदी आधारभूत गोगापुर, सरस्वती आधारभूत ठाटी गजेहडा र कोटीया आधारभूत गङ्गौलियामा विद्यार्थी न्यून मात्रामा अध्ययन गर्दछन् । नेपाल सरकारको विद्यमान शिक्षा नियमावलीअनुसार प्रतिकक्षा बराबर ५० जना विद्यार्थी हुनपर्ने प्रावधान छ ।

वाँणगङ्गा नगरपालिकाभित्र आधारभूत तहका विद्यालयमा मात्र नभई कतिपय माध्यमिक विद्यालयमा पनि विद्यार्थी सङ्ख्या न्यून रहेको वाणगङ्गा नगरपालिका शिक्षा शाखाले जनाएको छ । यी सबै विद्यालयको वास्तविकता पहिचान गरी एकीकरण गर्नुपर्ने आवश्यकता रहेको नगरपालिकाका प्रमुख मङ्गलप्रसाद थारुले बताए।

विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई एकीकरण नगर्दा एकातिर राज्यको स्रोतसाधन दुरुपयोग भएको छ भने अर्कोतिर धेरै विद्यार्थीले शिक्षक नै नपाउँदा पढ्नबाट बञ्चित हुनुपर्ने अवस्था छ । नगरमा आधा दर्जन बढी त्यस्ता विद्यालय छन् जहाँ हरेक विद्यालयका तीनदेखि पाँच जना शिक्षकले चार वर्षदेखि आधारभूत तहका सबै कक्षामा गरेर १७ देखि ३० जना विद्यार्थीलाई पढाउँदै आएका छन् ।

नगरको यस्तो अवस्थाप्रति चिन्तित हुँदै शिक्षा विकास तथा समन्व्य एकाइका प्रमुख बाबुराम भट्टराईले विद्यार्थी कम भएका विद्यालयलाई एकीकरण गर्नुपर्ने प्रावधान रहेको बताए । उनले यसरी कम विद्यार्थी भएका विद्यालयमा घरदैलौ अभियान वा कुनै कार्यक्रममार्फत विद्यार्थीको आकर्षण पनि बढाउन सकिने बताए ।

नगरपालिकाले शिक्षा क्षेत्रका लागि विशेष कार्यक्रम नै सञ्चालन गरेर सामुदायिक विद्यालयका विद्यार्थीको आकर्षण बढाउन ध्यान दिनुपर्नेमा अभिभावकले जोड दिएका छन् । न्यून विद्यार्थी भएका विद्यालयलाई एकीकरण गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने सुनिश्चित गर्नुपर्ने नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष रमेश पन्थीले बताए ।

प्रकाशित मिति: Nov 16, 2018

प्रतिक्रिया दिनुहोस्