Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थलाई मोदीका सुरक्षा सल्लाहकार डोभलको फोन : फोरम र राजपाबीच एकीकरण चर्चा  

काठमाडौं : संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरणको चर्चा फेरि शुरु भएको छ । एकताका लागि पटक-पटक यी दुई दलबीच प्रयास भएपनि सम्भव भइरहेको थिएन । अहिले ती दलका नेताहरुले पुनः एकताको प्रयास सुरु गरेका छन् । त्यसका लागि दुई दलका शीर्ष नेताहरुका बीच अनौपचारिक छलफल शुरु भएको छ । र, यसपटक एकीकरणको अगुवाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वयं आफै गरिरहेका छन् । उनले यस विषमया राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतासँग पटक-पटक छलफल गरिसकेको बताइएको छ ।

दुई दलबीच वार्ताको शिलशिला तब शुरु भयो जब उपेन्द्र यादव दिल्ली भ्रमण सकेर स्वदेश फर्के । स्वास्थ्य मन्त्री समेत रहेका उपेन्द्र यादव डब्लुएचओको कार्यक्रमा भाग लिनका लािग दिल्ली गएका थिए । नयाँदिल्लीमा आयोजना भएको कार्यक्रममा सहभागी भएर भदौ २२ गते स्वदेश फर्किने कार्यक्रम भएपनि उनी केही दिन दिल्लीमा बसेर विभिन्न नेता तथा उच्च व्यक्तित्वहरुलाई भेटेर फर्केका थिए ।दिल्लीबाट फर्केलगत्तै उनले राजपा नेपालका संयोजक ठाकुर र महतोलाई भेटेर एकीकरणका बारेमा छलफल गरेका हुन् ।

भारतीय दूतावास स्रोतका अनुसार अध्यक्ष यादवले दिल्लीमा भएका बेला प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभल, विवेक जोहरी लगायतलाई भेटेका थिए । अजित डोभललाई उनले आफू राजपा नेपालसँग एकीकरण गर्न तयार रहेकोले उनीहरु पनि यसका लागि तयार हुनुपर्ने भनेका थिए । त्यसपछि डोभलले उतैबाट राजपा नेपालका संयोजकलाई फोन गरेर फोरम नेपालसँग एकीकरण गर्न सुझाव दिएका थिए । उपेन्द्र यादवको नेतृत्वमा पार्टी एकीकरण भएपछि सो पार्टीको सर्वमान्य नेता महन्थ ठाकुरलाई बनाउने तयारी भइरहेको छ ।

विगतमा पनि फोरम र अन्य मधेशवादी दलबीच एकीकरणका लागि छलफल भएको थियो । सबै कुरा मिलेपनि अन्त्यमा उपेन्द्र यादवलाई अध्यक्ष पद नदिएपछि एकीकरण भाँडिएको थियो । यसपटक पनि उपेन्द्र यादवले आफ्नै नेतृत्वमा पार्टी एकीकरणका लागि पहल गरिरहनुभएको बताइएको छ । यादवले भारतमा पनि आफ्नो नेतृत्वमा पार्टी एकीकरण भएमा आफू तयार रहेको कुरा राखेका थिए । राजपा नेपालका अध्यक्षमण्डलका एकजना सदस्यले भने, ‘उपेन्द्र यादवलाई अध्यक्ष बनाउने कुरामा महन्थ ठाकुर पनि सकारात्मक हुनुहुन्छ तर त्यसपछि ठाकुरको स्पेश के त्यसमा कुरा मिलिरहेको छैन ।’

फोरम नेपालसँग एकीकरण गर्नका लागि संयोजक ठाकुर सकारात्मक भएपनि सो पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा सकारात्मक नरहेको स्रोतको दाबी छ । राजेन्द्र महतोसँग उपेन्द्र यादवको कुरा हुँदा महतोले सरकारबाट फिर्ता भएर आन्दोलनमा सहभागी हुन सुझाव दिएका थिए भन्दै रातोपाटीले खबर लेखेको छ ।

महतोले भनेका थिए, ‘हामी एकीकरण गर्न तयार छौं त्यसअघि तपाई सरकार छाडेर आन्दोलनमा सहभागी हुनुपर्छ । सरकारले संविधान संशोधन गरिरहेको छैन, मुद्दा फिर्ता पनि गराएको छैन । यी सबै काम गराउनका लागि आन्दोलन गर्नुपर्ने भएकाले तपाई सरकार छाडेर आउनुस् अनि आन्दोलनसँगै पार्टी पनि एकीकरण गरौंला ।’

त्यसको जवाफमा उपेन्द्र यादवले भनेका थिए, ‘केही दिन सरकारमा रहन दिनुस् बरु तपाईहरु पनि सरकारमा आउनुस्, त्यहीबाट दवाव दिएर संविधान संशोधन लगायतका काम गराउँला ।’ बैशाखमा बसेको फोरम नेपालको केन्द्रीय समितिको बैठकले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको थियो । र, एकीकरणका लागि विभिन्न दलहरुसँग वार्ताका लागि एउटा कार्यदल पनि बनाएको थियो ।

प्रकाशित मिति: Oct 10, 2018

प्रतिक्रिया दिनुहोस्