Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पवित्र धार्मिकस्थल देवघाटमा रहेको सार्वजनिक पुस्तकालय जिल्लाकै नमूना

दमौली : तनहुँ को पवित्र धार्मिकस्थल देवघाटमा रहेको सार्वजनिक पुस्तकालय जिल्लाकै नमूना बनेको छ ।

देवघाटलाई पूर्वीय दर्शनको अध्ययन केन्द्र बनाउने उद्देश्यले २०६३ सालमा स्थापना गरिएको सो उक्त पुस्तकालय देवघाटकै गहना मानिन्छ । सञ्चालक समितिका सदस्यले व्यक्तिगतरुपमा १०/१० पुस्तक उपलब्ध गराएर स्थापना गरेको सो पुस्तकालयमा हाल पाँच हजारभन्दा बढी पुस्तक छन् । पुस्तकालयमा बढीजसो संस्कृत र धार्मिक पुस्तक छन् । आधुनिक साहित्यका सामग्री तथा दैनिक, साप्ताहिक र मासिक पत्रपत्रिका समेत राखिएको सो पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।

पुस्तकालयको संस्थापक डा गुरुप्रसाद सुवेदी हुनुहुन्छ । महेश संस्कृत विद्यापीठका प्राचार्यसमेत रहनुभएका सुवेदीकै संरक्षकत्वमा पुस्तकालय सञ्चालन भइरहेको छ । स्थानीयवासी तथा यहाँ भ्रमणमा आउने तीर्थालु र भक्तजनले दैनिकरुपमा पुस्तकालयको भ्रमण गर्नुका साथै पुस्तक तथा पत्रपत्रिकाको अध्ययन गर्ने गरेको पौडेल बताउनुहुन्छ । इतिहास, वेद, उपनिषद् र पुराणका पुस्तकमार्फत देवघाटधामलाई पूर्वीय दर्शनको अध्ययन केन्द्रका रुपमा विकास गर्ने योजना रहेको उहाँको भनाइ छ ।

“पुस्तकालयको विकास र विस्तारका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो । देवघाट गाउँपालिका–५ स्थित सार्वजनिक जग्गामा पुस्तकालय भवन निर्माण गरिएको छ । भवन साँघुरो भएकाले जग्गा र सुविधा सम्पन्न नयाँ भवन बनाउन स्थानीय तहसँग पहल गरिरहेको पौडेलले बताउनुभयो । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले पुस्तकालयको विकास र विस्तार गर्न सक्दो सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्