Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता बागलुङमा हुँदै

बागलुङ : राष्ट्रिय महिला भलिबल प्रतियोगिताको २२औं संस्करण गण्डकी प्रदेशको बाग्लुङमा हुने भएको छ । । नेपाल भलिबल सङ्घको आयोजना, गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा सो प्रतियोगिता यही असोज २३ देखि २७ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहने जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष याम श्रीसले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न रु २० लाख खर्च हुने अनुमान छ । भलिबल सङ्घले खेल सामग्री र नगद रु एक लाख जिल्ला सङ्घलाई प्रदान गरेको छ । ‘प्रतियोगिताले व्यावसायिक खेलको प्रवद्र्धन हुनेछ”, अध्यक्ष श्रीसले भने, “खेल पर्यटनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ ।’

प्रतियोगिताबाट छानिने उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टिमको तयारीमा राखिने नेपाल भलिबल सङ्घले जनाएको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिने छ । विजेता टिमले नगद रु ५० हजार, उपविजेताले रु ३० हजार र तस्रो हुनेले रु २० हजार पुरस्कार पाउनेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सटर र ब्लकरलाई पनि रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ । राष्ट्रिय खेल भलिबल सञ्चालन गर्न पाउनु सुखद् अवसर भएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । खेल क्षेत्रको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्