Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा मृत्यु भएकाहरुलाई ९ लाख भता

दुई दशक भन्दा पहिले नै मृत्यु भइसकेका मानिसहरुले पनि रौतहटको माधवनारायण नगरपालिकामा सामाजिक सुरक्षा बापतको भता बुझेका छन । सरकारले वृद्धहरुलाई उपलब्ध गराउने सो भता लामो समय देखी मृतकहरुको नाममा निकासा भएको फेला परेको छ ।रौतहटको माधवनारायण नगरपालिका वडा नं. ६ मा जनप्रतिनिधिकै मिलेमतोमा सामाजिक सुरक्षा भता बापतको ९ लाख ७७ हजार ६०० रुपैंया हिनामिना भएको छ ।

वडाअध्यक्ष राजिव कुमार यादव र वडासचिव मनोज कुमार झाले मृत्यु भएका ४० जना भन्दा बढी व्यक्तिको नाममा भता बाडेको रहस्य खुलेको छ । यसै गरी ३० जना भन्दा बढी व्यक्तिलाई दोहरो नाम दर्ता गरेर भता बाडेको खुलेको छ । मृत्यु भइसकेका व्यत्तिको नाममा बाडिएको रकम सम्बन्धीत परिवारजनले समेत बुझेका छैनन । मृत्यु दर्ता प्रमाण पत्र बनाइसके पछि परिवारजनका कुनै सदस्यले रकम भता नबुझेको र किर्ते हस्तारक्षर गरेर सचिव तथा जनप्रतिनिधिहरुले रकम कुमल्याएको आरोप स्थानियको रहेको छ ।

३० वर्ष पहिले नै मृत्यु भइसकेको व्यक्तिको नाममा समेत वडा कार्यालयले यस पटक समेत भता बाडेको देखिएको छ । दुई दशक पहिले नै मृत्यु भएका बुझावन गिरिको नाममा समेत भता बाडिएको उल्लेख गरिएको छ भने माधुरी देवी, योगेन्द्र महतो, राधा बैडा, बिन्दा महतो लगायत ४० भन्दा बढी मृत्यु भएकाहरुले रकम बुझेको भरपाई वडा कार्यालयले राखेको छ ।

आफूहरुले गाँउका बुझावन गिरीलाई कहिल्यै नदेखेको बताउदै स्थानिय हरि नारायण यादवले भने “म जन्मीनु भन्दा पहिले नै मृत्यु भइसकेको व्यक्तिलाई समेत वडा कार्यालयले अझै भता बाडि रहेको रहेछ ।” किर्ते हस्तारक्षर गरेर वडा अध्यक्ष यादवले सबै रकम हिनामिना गरेकोले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हरि नारयाण यादवले बताए । दलित बालबालिकाको लागी आउने बालपोषण भतामा समेत वडा अध्यक्षले भ्रष्टाचार गरेको आरोप स्थानिको रहेको छ ।

यसै गरी २०७० सालमै मृत्यु भएका पंचलाल साह तेलीले पनि अहिले सम्म सामाजिक सुरक्षा भता बुझिरहेको वडा कार्यालयको तथ्याङ्कले देखाएको छ । मृतक साहका छोरा उपेन्द्र साहले भने “बुवाको नाममा अझै भता निकालेर वडा अध्यक्ष तथा सचिवले गोजी भरिरहेका छन ।” बुवा पंचलाल साहको मृत्यु दर्ताको प्रमाणपत्र देखाउदै उनले भने “बुवाको नाममा पाँच वर्ष देखी रकम कस्ले बुझिरहेका छन खोजबिन हुनु पर्छ ।”

यस सम्बन्धमा वडा अध्यक्ष राजिव कुमार यादवले आफूहरुलाई नगरपालिका कार्यालयले उपलब्ध गराएको तथ्याङ्कको आधारमा भता वितरण गरेको बताएका छन । आफू वडा अध्यक्षका रुपमा निर्वाचित हुन भन्दा पहिले नै बनेको तथ्याङ्ककै आधारमा भता बाडिएकोले आफूले रकम हिनामिना गरेको आरोप गलत रहेको उनको तर्क छ । केही मृतकको नाममा समेत भता बाडिएको स्वीकार गर्दै उनले गलत तथ्याङ्कका कारण वडा कार्यालय अहिले दोषि देखिएको बताएका छन ।

केन्द्रीय पञ्जीकरण विभागले माधवनारायण नगरपालिकामा भएको सामाजिक सुरक्षा भता हिनामिना सम्बन्धमा अनुसन्धान गर्न अख्तिायार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार समेत गरेको छ ।

प्रकाशित मिति: Sep 14, 2018

प्रतिक्रिया दिनुहोस्