Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ मुलुकी ऐनको विरोध : भदौ १ देखि बिरामी नजाँच्ने चिकित्सक संघको चेतावनी

भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) मा गरिएको कारबाहीको व्यवस्थाप्रति चिकित्सकहरुले विरोध जनाएका छन् । उनीहरुले उक्त ऐन कार्यान्वयन भएपछि डाक्टरहरुले विरामी जाँच्नै नसक्ने अवस्था रहने भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका छन् । 

डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएमा ५ वर्ष कैद सजाय हुने लगायतको व्यवस्था संशोधन गर्नुपर्ने उनीहरुको माग छ । नेपाल चिकित्सक संघले उक्त ऐनको विषयमा सोमबार काठमाडौंमा छलफल कार्यक्रम नै गरेको छ । 

कार्यक्रममा बोल्ने चिकित्सकहरुले बिरामीको उपचार आपराधिक कार्य हुन नसक्ने भन्दै मुलुकी ऐनमा भएको यो व्यवस्था संशोधन गर्नुपर्ने माग गरे । ‘ट्रिटमेन्ट कहिल्यै पनि क्रिमिनल हुन सक्दैन’, कार्यक्रमका सहभागी एक चिकित्सकले भने, ‘यस्तो तथ्य सरकारले भुल्न हुँदैन ।’

चिकित्सकहरुले डाक्टरहरुको लापरबाही वा हेलचेक्र्याइँलाई सिधै अपराधका रुपमा लिएर कारबाही गर्ने कानुनी व्यवस्थाले चिकित्सकले खतरा नमोल्ने प्रवृत्ति देखिने बताए । 

यता, नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन गर्न माग गरेको छ । नभए भदौ १ बाट एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र बिरामी नजाँच्ने बताएको छ ।

संघले सोमबार पत्रकार सम्मेलन गरेर भदौ १ गते देशभरका चिकित्सकहरुको एप्रोन र लाइसेन्स काउन्सिलमा बुझाउने घोषणा गरेको हो । ‘यो स्थिति नआओस् भन्ने कामना गर्छौं’ अध्यक्ष मुक्तिराम श्रेष्ठले बताए ।

मुलुकी अपराध संहितामा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद र हेलचेक्र्याइँले बिरामीको मृत्यु भएमा ३ वर्ष कैदको व्यवस्था भदौ १ देखि कार्यान्वयनमा आउने भएकाले चिकित्सकहरुले बिरोध जनाएका हुन् ।

२०७५ साउन २८ गते १७ : ४६ मा प्रकाशित

प्रकाशित मिति: Aug 13, 2018

प्रतिक्रिया दिनुहोस्