Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूकम्पको तीन वर्ष बित्दासमेत गुम्बा/विहार पुन: निर्माणमा ढिलाइ

काठमाडौँ : भूकम्पको तीन वर्ष बित्दासमेत कार्यविधि पारित नहुँदा भत्किएका गुम्बा/विहारको पुनःनिर्माण शुरु हुन सकेको छैन ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समिति बैठकले कार्यविधिको मस्यौदा गरी निर्देशक समितिको बैठकमा पेश गरे पनि पारित हुन सकेको छैन । कार्यविधि नभएकाले पूर्ण क्षति पुगेका ८९५ गुम्बा/विहार अलपत्र छन् ।

एक महिनादेखि प्राधिकरण प्रमुख कार्यकारी अधिकृतविहीन भएकाले निर्देशक समितिको बैठकलगायत नीतिगत बाधा–अड्चन फुकाउने काम हुन सकेको छैन । गत वर्ष संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले एक हजार ३२० गुम्बाको सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणबाट ८९५ गुम्बा/विहार पुनःनिर्माण गर्नुपर्ने प्रतिवेदन सार्वजनिक भएको आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारअन्तर्गतको भूकम्पीय गुम्बा पुनःनिर्माण शाखा प्रमुख प्रकाश चौधरीले राससलाई जानकारी दिनुभयो ।

प्रतिवेदनअनुसार ३३१ गुम्बा÷विहार मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने अवस्थामा छन् । बाँकी गुम्बा ठीक रहेको प्राधिकरणले जनाएको छ । चालू आर्थिक वर्षमा गुम्बा÷विहार पुनःनिर्माणका लागि रु दुई अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ ।

पुनःनिर्माण कार्यविधि नबन्दा कसरी बनाउने भन्ने प्रस्ट छैन । गुम्बा÷विहार पुनःनिर्माणमा ढिलाइ गरिएको भन्दै नेपाल गुम्बा/विहार महासंघले आन्दोलनको घोषणा गरेको छ । साउन ३० गते छिटो पुनःनिर्माणको माग गर्दै ¥याली तथा धर्ना कार्यक्रम आयोजना गरिएको महासंघका अध्यक्ष सोम्बले तामाङले बताउनुभयो ।

पुनःनिर्माण नहुँदा गुम्बा÷विहारमा पूजाआजालगायत धार्मिक गतिविधि हुन सकेको छैन । गत वर्ष पनि दुई महिनाको आन्दोलनपछि सरकारसँग छबुँदे सहमति भएको महासंघले जनाएको छ । सरकारले सहमति पालना नगरेको अध्यक्ष तामाङले बताउनुभयो ।

प्रकाशित मिति: Aug 12, 2018

प्रतिक्रिया दिनुहोस्