Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाजरकोटका कैदीबन्दीद्वारा सेवासुविधाबाट वञ्चित

जाजरकोट : जाजरकोट कारागारका कैदीबन्दीले रासन, सिदा खर्च, लत्ताकपडा भत्ता, औषधोपचार, स्वच्छ खानेपानी, मनोरञ्जनका सामग्री तथा सुविधाबाट वञ्चित भएको बताएका छन्  ।

खल्तीमा पैसा नहुँदा उपचार पाउनबाट वञ्चित हुनुपरेको थुनुवा बलबहादुर मल्लले बताउनुभयो  । कैदीबन्दीको औषधोपचारमा कारागार शाखाले बेवास्ता गरेको उहाँको आरोप छ । खल्तीमा पैसा हुनेको उपचार हुने तर नहुनेको उपचार नै नहुने गरेको उहाँको भनाइ छ ।

बिरामी कैदीबन्दीले औषधोपचार गरेको बिल पेस गर्दा पनि भुक्तानी नपाएको मल्लको भनाइ छ । “दुई सातासम्म धारोमा पिउने पानी नआउँदा पनि कसैले वास्ता गर्दैनन्,” उहाँले भन्नुभयो, “रासन तथा सिदा खर्च चार÷पाँच महिना बित्दासमेत पाउन सकिएको छैन ।”

लत्ताकपडा भत्ता वर्षमा दुईपटक पाउनुपर्नेमा एकपटक मात्र दिने गरेको र उक्त सुविधा अन्य कारागारको भन्दा निकै कम उपलब्ध हुने गरेको कैदीबन्दीको गुनासो छ । लत्ताकपडा भत्ता अन्य कारागारमा दुई हजारका दरले पाइने भएपनि जाजरकोट कारागारमा रु ७५० मात्र पाइने उनीहरूको गुनासो छ । कारागारका कर्मचारीले कैदी र थुनुवालाई अपहेलना गर्ने गरेको कैदी निमबहादुर सिंहले बताउनुभयो  ।

केही कर्मचारीले कैदीबन्दीलाई तल्लो दर्जाको नागरिक सम्झेर अश्लील शब्द प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । “कारागारमा कसैलाई पनि सम्मानजनक व्यवहार भएको छैन,” उहाँले भन्नुभयो, “सेवासुविधाको अभाव तथा सम्मानपूर्वक व्यवहार नपाउँदा तनावमा बस्न बाध्य छौँ ।” कैदीबन्दीलाई तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य चर्को भएको उहाँको गुनासो छ ।

कैदी एक प्याकेट सुर्तीको रु ७० मूल्य तिर्न बाध्य भएको सिंहले जनाउनुभयो  । सम्बन्धित प्रशासनलाई रु १० हजार घुस दिएर मात्र चौकीदार तथा नाइके बन्न पाउने प्रचलन रहेको कैदीबन्दीको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षकलगायत उच्च तहका कर्मचारी एकपटक पनि कारागारमा नआएको उनीहरू बताउँछन् । जिल्ला प्रशासनलगायत निकायले कैदी बन्दीको समस्याप्रति बेवास्ता गरेको कैदीबन्दीको गुनासो छ । उनीहरूका अनुसार कैदीबन्दीले जायज माग गर्दा पनि सरुवा गरिदिने, कैद सजाय थपिदिने, धम्की आउनेलगायतका समस्या छन् ।

कैदी तथा थुनुवाले अनावश्यक निहुँ खोजेर कारागार प्रशासनलाई समस्यामा पार्ने गरेको जेलर तेजविक्रम शाहले बताउनुभयो । २० जना अटाउने क्षमताको जाजरकोट कारागारमा ५७ जना कैदी तथा थुनुवा कोचाकोच गरेर बस्न बाध्य छन् । कारागारमा कैदीबन्दीका लागि दुई मात्र कोठा छन् । एउटै कोठामा ३० जना कैदी लाइन लागेर सुत्न बाध्य छन् ।

कारागारको निर्माणाधीन भवन सम्पन्न नहुँदा कैदीबन्दीलाई समस्या भएको जेलर शाहले बताउनुभयो  । कारागार प्रशासनका अनुसार अहिले ४८ कैदी र एक महिलासहित नौजना थुनुवा छन्  । (रासस)

प्रकाशित मिति: Jul 19, 2018

प्रतिक्रिया दिनुहोस्