Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगार ऐनमा मानव बेचबिखनलाई समेट्नु पर्ने माग

काठमाडौँ : कडा कानून नहुँदा मानव बेचबिखनमा संलग्नहुनेहरु उम्कने गरेका वक्ताहरुले बताएका छन् । महिला कानून र विकास मञ्चले आज यहाँ आयोजना गरको ‘मानव बेचबिखन तथा वैदेशिक रोजगारबीचको अन्तरसम्बन्ध’ विषयक छलफल कार्यक्रमका सहभागी वक्ताहरुले वैदेशिक रोजगारीमा जाने महिला मानव बेचबिखनमा पर्ने गरेको भएपनि यस सम्बन्धी कडा कानून नभएका कारण त्यसमा संलग्नहुनेले कारबाहीको दायरामा आउन नसकेको बताए ।

उनीहरुले वैदेशिक रोजगार ऐन २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले वैदेशिक रोजगारीका सिलसिलामा हुने मानव बेचबिखनलाई समेट्न नसकेकाले मानव बेचबिखन बढेको बताउँदै ऐन अनुसार वैदेशिक रोजगारीमा जाँदा ठगी र बेचबिखनमा परेको व्यक्तिले ठगी मुद्दा मात्रै दर्ता गर्ने गरेको स्पष्ट पार्नुभयो । वैदेशिक रोजगार गएका व्यक्ति बेचबिखनमा पर्छन् भन्नेतर्फ ऐनमा कहिं कतै उल्लेख नगरिएकाले मानव बेचबिखनमा संलग्नहुनेहरु उम्कने गरेको उनीहरुले बताए ।

कार्यक्रममा अधिवक्ता रोश्ना प्रधानले वैदेशिक रोजगार ऐनले ठगीलाई मात्र समेटेको र बेचबिखनलाई नसमेटेकाले यसको परिभाषा नै परिवर्तन गर्नुपर्ने बताउँदै ठगी र बेचबिखनमा परेमा दोहोरो मुद्दा चलाउने व्यवस्था ऐनमा संशोधन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले एउटै व्यक्ति बेचबिखन र ठगीमा परेमा दुई फरकफरक कसुरमा मुद्दा चलाउने व्यवस्था भएमा पीडितले न्याय पाउने बताउनुभयो ।

“वैदेशिक रोजगारमा जाने महिला बेचबिखनमा परे भने कारबाही गर्ने कुनै कानून नै छैन”, उहाँले भन्नुभयो, “त्यसैले अब दुवै ऐन संशोधन गरेर पिडकलाई कडाभन्दा कडा कारबाही गर्ने कानून बनाउनु पर्दछ ।” कार्यकारी निर्देशक श्रेष्ठले पीडितलाई कानूनमा सहज गराउनका लागि सातवटै प्रदेशमा मानव बेचबिखनविरुद्धको ब्यूरो कार्यालय स्थापना गर्नुपर्नेसमेत जोड दिनुभयो । गत असार मसान्तसम्म करिब ४७ लाख ७८ हजार वैदेशिक रोजगारमा गएको सरकारी तथ्यांक छ ।

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्