Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविका उपकुलपतिसहित ३ पदाधिकारीलाई बर्खास्त गर्न सिफारिस

काठमाडौँ : चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले मेडिकल कलेजको सम्बन्धनमा अनियमितता गरेको ठहरसहित त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीन पदाधिकारीलाई तत्काल बर्खास्त गर्न सिफारिस गरेको छ । आयोगले मेडिकल कलेजको अनियमितता र अन्य विवादास्पद निर्णयमा संलग्न भएका ४३ जनालाई कारबाहीको सिफारिस गरेको हो ।

आयोगले उपकुलपति डा. तीर्थ खनियाँ, रजिस्ट्रार डिल्ली उप्रेती र रेक्टर सुधा त्रिपाठीलाई बर्खास्तको सिफारिस गरेको हो । डा. गोविन्द केसीलाई विभागीय कारबाहीका लागि फाइल खडा गर्न खोजेका त्रिवि पदाधिकारीहरू आफैं बर्खास्तीको सिफारिसमा परेका हुन् ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन प्रकरणमा विश्वविद्यालयका तीन मुख्य पदाधिकारीसहित कार्यकारी परिषद्का सबै सदस्यलाई कारबाहीको सिफारिस गरिएको छ । शिक्षामन्त्री गोपालमान श्रेष्ठले आयोगको प्रतिवेदन प्राप्त भएको उल्लेख गर्दै थप छानबिनपछि निर्णय गर्ने जानकारी दिएका छन् ।

कांग्रेसको सिफारिसमा उपकुलपति बनेका डा. खनियाँ पछिल्लो निर्वाचनमा एमालेसहित वाम गठबन्धनको बहुमत आएपछि एमालेसँग निकट बनेका थिए । उपकुलपतिको सचिवालय स्रोतका अनुसार एमाले नेताहरूकै सल्लाहमा खनियाँले डा. केसीको क्रियाकलाप त्रिवि ऐन र नियमविपरीत भएको भन्दै प्रतिशोधस्वरूप स्पष्टीकरण लिने र कारबाही गर्ने तयारीमा थिए ।

जाँचबुझ आयोगको प्रतिवेदनका विषयवस्तु प्रमाण हुने भनी लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नजिर कायम गरेको छ । जाँचबुझ ऐनअनुसार गठित आयोगको कानुनी हैसियत जनआन्दोलन २०६२/६३ मा भएको दमनको छानबिन गर्न गठित रायमाझी आयोगसरहकै हो ।

सरकारले रायमाझी आयोगको प्रतिवेदनकै आधारमा दोषी किटान भएका व्यक्तिलाई कारबाही गरेको थियो । मेडिकल कलेज विवाद र अनियमितताका विषयमा समेत पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको आयोगको सिफारिस बाध्यकारी हुन्छ ।

आयोगले आइतबार सार्वजनिक गरेको प्रेस नोटमा ‘मेडिकल शिक्षामा देखिएका विकृति र विसंगतिलाई बढावा दिने वा अनियमितता गर्ने ४३ जनालाई कारबाहीका लागि सिफारिस गरिएको’ उल्लेख छ । तर उनीहरूको नाम र भूमिकाबारे सबै विवरण गोप्य राखिएको छ ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्