Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र निर्धारण

पोखरा : यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि पोखरास्थित लोक सेवा आयोगको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयलाई मतदान केन्द्र निर्धारण गरिएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्देशनालयभित्र दुईवटा मतदान केन्द्र बनाइएको जानकारी दिँदै क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले यस प्रदेशमा कुल मतदाताको संख्या २३० जना रहेको जानकारी दिनुभयो । एउटा मतदान केन्द्रमा यस प्रदेशका ६० जना सदस्य र अर्को मतदान केन्द्रमा गाउँपालिका र नगरपालिका प्रमुख तथा उपप्रमुख गरी १७० जनाले मतदान गर्नेछन् ।

यस प्रदेशमा खुल्लातर्फ तीन, महिला तीन, दलित र अपाङ्गबाट एक/एक राष्ट्रियसभा सदस्य निर्वाचित हुनुपर्नेमा अपाङ्गतर्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भइसक्नुभएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको कार्यक्रम रहेको सुवेदीले जानकारी दिनुभयो ।

प्रदेशसभा बैठकको तयारी अन्तिम चरणमा

प्रदेश नं ४ को सोमबार पोखरामा हुने प्रदेशसभाको बैठक अन्तिम चरणमा पुगेको छ । प्रदेशसभा बैठकलाई लक्षित गरी नदीपुरस्थित नगरविकास प्रशिक्षण केन्द्रको सभाकक्षलाई बैठकस्थलका रुपमा तयार गरिएको छ भने सँगै रहेको भवनमा सचिवालय स्थापना गरी काम सञ्चालन गरिएको छ । बैठकका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो । बैठकमा सहभागी हुन प्रदेश नं ४ अन्तर्गतका जिल्लाबाट कतिपय प्रदेशसभा सदस्य पोखरा आइसक्नुभएको छ भने कतिपय आउने क्रममा हुनुहुन्छ ।

प्रदेश नं ४ मा गोरखा, लमजुङ, कास्की, तनहु, स्याङ्जा, नवलपरासी, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत र मनाङ गरी ११ वटा जिल्ला पर्दछन् । बैठकका प्रक्रियालगायतका विषयमा छलफल गर्न शनिबार सर्वदलीय बैठक बसेको प्रदेससभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले जानकारी दिनुभयो । सर्वदलीय बैठकले सोमबार बस्ने प्रदेशसभा बैठकका प्रक्रिया सम्बन्धमा छलफल गर्नुका साथै पोशाकलगायतका विषयमा सहमति कायम गरेको उहाँले बताउनुभयो ।

ज्येष्ठ सदस्य श्रेष्ठका अनुसार प्रदेशसभा बैठकमा आउन पुरुष तथा महिला सदस्यलाई तीन प्रकृतिको पोशाक निर्धारण गरिएको छ । बैठकमा आउँदा पुरुष प्रदेशसभा सदस्यले दौरा, सुरुवाल, कोट वा सुट पाइन्ट वा आफ्नो जातीय पहिचानको सांस्कृतिक पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको छ भने महिला सदस्यका लागि साडी चोलो वा सुट पाइन्ट वा जातीय पहिचानको सांस्कृतिक पोशाक निर्धारण गरिएको छ ।

एक घण्टा १५ मिनेट समयावधि अनुमान गरिएको सोमबारको बैठकमा संसदीय परम्पराअनुरुप प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढ्ने, आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्नेलगायतमा विषयमा सर्वदलीय सहमति गरिएको सहसचिव बुढाथोकीले जानकारी दिनुभयो ।

सोमबार प्रत्येक ठूला दलबाट तीन÷तीन जना (कम्तीमा एक जना महिलासहित) र साना दलबाट एक÷एक जना गरी ११ जनाले मन्तव्य दिने दलबीच सहमति भएको छ । बैठकलाई लक्षित गर्दै प्रदेशसभा कक्षमा पूर्वाधार निर्माणका काम लगभग अन्तिम चरणमा पुगेको शहरी विकास डिभिजनका प्रमुख किशोरलाल माजुले बताउनुभयो । जम्मा ६० सदस्यीय प्रदेशसभाको बैठक बस्ने स्थलमा सांसदहरूका लागि माइकसहितका कुर्ची छुट्टै मिलाएर राखिसकिएको छ । (रासस)

प्रकाशित मिति: Feb 4, 2018

प्रतिक्रिया दिनुहोस्