Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौतमको संयोजकत्वमा एमाले-माओवादीद्वारा अर्को कार्यदल गठन

काठमाडौँ : एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा एमाले(माओवादीले अर्को कार्यदल गठन गरेको छ ।  एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठकले नयाँ सरकारले समृद्धि र सुशासनका क्षेत्रमा गर्नुपर्ने कामका बारेमा गृहकार्य गर्न सात सदस्यीय कार्यदल गठन गरेको हो । एमाले अध्यक्ष केपी ओली निवासमा आइतबार बसेको बैठकमा वाम गठबन्धनको साझा घोषणा पत्रमा उल्लेख भएबमोजिमको सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सात सदस्यीय कार्यदल गठन गरिएको हो ।

संयोजन समितिको बैठकले प्रदेश सरकार, मुख्यमन्त्री, सभामूखलगायतका पदको विषयमा रिपोर्ट पेस गर्न कार्यदललाई थप समय प्रदान गरेको छ । राष्ट्रिय सभाको निर्वाचनको मिति नजिकिएका कारण उक्त विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारका बारेमा छलफल गर्दै जान नेताहरु सहमत भएका हुन् । शीर्ष नेताहरुले छिटो र व्यवस्थित रिपोर्ट पेस गरेकोमा कार्यदललाई धन्यवाद दिइएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाका अनुसार एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलमा एमाले नेता भीम रावल, डा. विजय पौडेल, युवराज खतिवडा र माओवादी केन्द्रबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल र डा. मीनबहादुर श्रेष्ठ सदस्य रहेका छन् । बैठकले प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनबारे रिपोर्ट पेस गर्न बनेको संयुक्त कार्यदलको प्रस्तावलाई अनुमोदन गरेको छ । जसअनुसार राष्ट्रिय सभा सदस्यमा एमालेका तर्फबाट २९ जना र माओवादी केन्द्रका तर्फबाट १४ जना उम्मेदवार रहनेछन् ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकताका बारेमा भएको प्रगतिबारे बैठकलाई बिफ्रिङ गरेका थिए । अध्यक्षद्वयले पार्टी एकताबारे आफूहरुबीच असाध्यै सकारात्मक वातावरणमा छलफल चलिरहेको र वैचारिक एवं संगठनात्मक विषयमा एक/दुई दिन थप छलफल गरेर वैचारिक र संगठनात्मक कार्यदल गठन गर्न बैठकमा प्रस्ताव गरेका थिए । बैठकले एक/दुई दिन थप छलफल गरेर कार्यदल गठन गर्ने निर्णय गरेको छ । बैठकमा पार्टी एकता संयोजन समितिका सदस्य र संयुक्त कार्यदलका सदस्यहरु सहभागी थिए ।

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्