Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफैले कार चलाएर पूर्वराजा सुटुक्क बजारतिर निस्केपछि प्रहरीको कुदाकुद

नेपालगञ्ज : पछिल्लो पाँच दिनदेखि नेपालगञ्जमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफैले गाडी चलाएर नेपालगञ्ज बजारको अवलोकन गरेका छन् । सुरक्षा निकायलाई थाहै नदिई पूर्वराजा बिहान बाहिर निस्केपछि प्रहरीको भने कुदाकुद भएको थियो ।

बा २ च ६४१८ नम्बरको कार चलाएर पुर्वराजा शाह नेपालगञ्ज बजारतिर निस्केका थिए। पूर्वराजाले नेपालगञ्जको सुर्खेतरोडमा केहीबेर यात्रा गरे। नेपालगञ्ज भन्सारसम्म पुगेर फर्किएका ज्ञानेन्द्र होटलमा नपसी फेरि कोहलपुरतिर लागेका थिए। गनापुरबाट फर्किएर ज्ञानेन्द्र सोल्टी होटल पुगेका थिए।

यता पूर्वराजा एक्कासी केही नभनी हिँडेपछि बाँके प्रहरीलाई तनाव भएको छ। सोल्टी होटलबाट नेपालगञ्ज बजारतिर निस्केपछि बागेश्वरी मन्दिर दर्शन हुन सक्ने बुझेर प्रहरीको एउटा टोली मन्दिरमा पुगेको थियो। वडा प्रहरी कार्यालयका इन्चार्ज राजन गौतमको टोली धेरैबेरसम्म मन्दिर बसेर फर्कियो। पूर्वराजा कोहलपुरतिर गएको भन्ने बित्तिकै अर्का प्रहरी निरीक्षक बसन्त गौतमको टोली कोहलपुरतिर हान्नियो। उसले पनि राजालाई भेट्न सकेन ।

केहीबेरपछि पूर्वराजा सोल्टी होटलमा पुगेको त्यहाँ रहेका असईले जानकारी गराएपछि कोहलपुरतिर लागेको र बागेश्वरी मन्दिरमा रहेको प्रहरी टोली फर्किएको छ। पूर्वराजाको भ्रमणतालिका सुरक्षा निकायलाई नदिँदा बाँके प्रहरी तनावमा छ।

सोल्टी होटलमा बसेका पूर्वराजपरिवारको सुरक्षामा सशस्त्र प्रहरीको टोली खटिएको छ। सशस्त्र डिएसपीले कमाण्ड गरेको टोली त्यही बसेको छ।

यसैबीच पाँचतारे होटल सोल्टीमा गएराति अंग्रेजी नयाँ वर्षको कार्यक्रम भएको छ। पूर्वराजाको समेत उपस्थितिमा सोल्टीमा नाचगान भएको छ। राप्रपाका युवा नेता ऋषिराज देवकोटाका अनुसार आठ बजेतिरबाट शुरु भएको होटलको सांगितिक कार्यक्रम एक बजेसम्म चलेको थियो। पूर्वराजा ज्ञानेन्द्र साढे नौ बजेतिर सार्वजनिक कार्यक्रममा देखिएका थिए। १५ मिनेटजति नाच हेरेर ज्ञानेन्द्र भित्र पसेका थिए। त्यसक्रममा नयाँ वर्ष मनाउन पुगेका व्यक्तित्वहरुले पूर्वराजा ज्ञानेन्द्रसँग फोटो खिचाउन तँछाडमछाड गर्दा सुरक्षा मिलाउन हम्मेहम्मे परेको थियोे ।

प्रकाशित मिति: Jan 2, 2018

प्रतिक्रिया दिनुहोस्