Logo
१५ बैशाख २०८१, शनिबार
(December 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छैटौं वर्ष पार गरिसक्दा : खोलामा बिजुली तर, गाउँ अँध्यारै

इलाम । समयमा काम नहुँदा विश्व बैङ्कले हात झिकेपछि काबेली कोरिडोर १ सय ३२ केभी प्रसारण लाइन आयोजना निर्माणमा झनै समस्या थपिएको छ । चालू आर्थिक वर्षमा सरकारले उपलब्ध गराएको बजेट प्रसारण लाइन निर्माणका लागि आधा पनि नपुग्ने भएकाले समयमा काम सक्न कठिनाइ हुने आयोजनाले जानकारी दिएको छ । यस्तैगरी प्रसारण लाइनको दायाँबायाँ गरिने ग्रामीण विद्युतीकरण कार्यसमेत अनिश्चित भएको छ ।

इलाम, पाँचथर र ताप्लेजुङका निर्माणाधीन र निर्माण सम्पन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने उद्देश्यले शुरू भएको काबेली कोरिडोरमा शुरूमा विश्व बैङ्कले लगानी गरेको थियो । बैङ्कको २ अर्ब ५८ करोड ४० लाख रुपैयाँ सहयोगमा शुरू भएको आयोजना पटकपटक म्याद थप्दा पनि समयमा निर्माण पूरा भएको थिएन । आयोजना निर्माण शुरू भएको छैटौं वर्ष पार गरिसक्दा पनि निर्माणले गति नलिएपछि गतवर्ष विश्व बैङ्कले आयोजना निर्माणबाट हात झिकेको थियो  । उक्त अवधिमा पनि आयोजनाका लागि पटकपटक रकम थप गरी आयोजना निर्माण गरिएको थियो ।

‘अहिले आयोजनालाई गति दिन हामीले सरकारसँग ३५ करोड रुपैयाँ माग गरेका थियौं । तर, सरकारले १३ करोड मात्र चालू आर्थिक वर्षमा उपलब्ध गराएको छ,’ आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले भने । उनले रकम अभावकै कारण यो वर्ष पनि आयोजना निर्माण सम्पन्न नहुने बताए । उनले इलामको सिद्धिथुम्का र चमैतामा स्थानीयले अवरोध पु¥याएकाले काम ढिलो भएको जानकारी दिए । कण्ट्र्याक्टरले समयमा सामानका आपूर्ति नगर्नु पनि आयोजनाको थप समस्याका रूपमा रहेको उनले बताए । यी समस्याले गर्दा काबेली कोरिडोर निर्माण थप २ वर्ष धकेलिने बताइएको छ ।

काबेली कोरिडोर प्रसारण लाइनअन्तर्गत दमकदेखि पाँचथरको अमरपुरसम्म ९० किलोमिटरमा १ सय ३२ केभी डबल सर्किट लाइन निर्माण हुनेछ । यस क्रममा पहिलो खण्डअन्तर्गत झापाको लखनपुरदेखि इलामको गोदकसम्म प्रसारण लाइन निर्माण सम्पन्न भई विद्युत् प्रसारण चालू भइसकेको छ ।

लखनपुर, गोदक, पाँचथरको थापाटार र अमरपुरमा समेत सबस्टेशन तयार भइसकेका छन् । इलामदेखि पाँचथर अमरपुरसम्मको दोस्रो खण्डको प्रसारण लाइन निर्माण कार्य सुस्त गतिमा अगाडि बढेको छ । प्रसारण लाइनको अभावमा पाँचथर र ताप्लेजुङमा निर्माण सम्पन्न भएका र पाइपलाइनमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जडान गर्न समस्या देखिएको छ भने आयोजनाहरूबाट उत्पादित विद्युत् खेर जाने स्थितिसमेत देखिएको छ ।

प्रसारण लाइनको अभावमा पाँचथरका विद्युत्गृहबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत इलाम सबस्टेशनमा ल्याइएको छ । क्षमता नभएका कारण थोरै मात्रामा विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

विश्व बैङ्कले आयोजनाको लगानी बन्द गरेसँगै आयोजना क्षेत्रमा पर्ने इलाम, पाँचथर, तेह«थुम र झापा जिल्लाका साबिकका २५ गाउँ विकास समितिमा हुने विद्युतीकरण पनि रोकिएको छ । आयोजनाको क्षेत्रबाट तलमाथि अढाइ किलोमिटर क्षेत्रमा विद्युतीकरण गरिने कार्यक्रमका लागि पहिलो खण्ड झापादेखि इलामको मङ्गलबारेसम्म ग्रामीण विद्युतीकरण गर्न गतवर्ष नै ठेक्का लागिसकेको थियो । तर, विश्व बैङ्कले आयोजनाको म्याद नथपेपछि  ३४ करोडको उक्त ठेक्कासमेत रद्द भएको थियो ।

‘ठूलो क्षमताको प्रसारण लाइन निर्माण हुने भएकाले बत्तीमुनि अँध्यारो नहोस् भन्नका निमित्त आयोजना आसपासका ५ किलोमिटर क्षेत्रमा ११ केभी वितरण लाइन जडान गर्ने आयोजनाको लक्ष्य रहे पनि यस क्षेत्रका बासिन्दाले उज्यालो देख्न नपाउने भएका छन् । माथिबाट नेपाल विद्युत् प्राधिकरणको आन्तरिक स्रोतबाट विद्युतीकरण गर्ने आश्वासन पाएका छौं । तर, यो पनि टुङ्गो लागेको छैन,’ द्विवेदीले भने ।

आयोजनाअनुसार तत्कालीन झापाको लखनपुर गाविस, इलामको चुलाचुली, बाँझो, महमाई, दानाबारी, चिसापानी, गोदक, सोयाक, सिद्धिथुम्का, साङरुम्बा, मङ्गलबारे, एकातप्पा, फाकफोक, चमैता, पाँचथरको चिलिङ्देन, पौवासारताप, इम्बुङ, नवमीडाँडा, सिवा, चोकमागु, फिदिम, भारपा, सुभाङ, अमरपुर र तेह्रथुमको छातेढुङ्गासमेत २५ गाविसमा ग्रामीण विद्युतीकरण सेवा उपलब्ध हुने कार्यक्रम थियो । यस्तो विद्युतीकरणका लागि स्थानीय समुदायले १० प्रतिशत सहभागिता जनाउनुपर्ने व्यवस्था छ  ।

इलामका पश्चिमी गाउँ र पाँचथरका अधिकांश गाउँमा अहिलेसम्म विद्युतीकरण विस्तार हुन सकेको छैन । आयोजना निर्माणसँगै उज्यालो देख्ने आशामा रहेको यहाँका बासिन्दा अझै बत्ती बल्ने आशामै छन् । सुस्त गतिमा निर्माण भइरहेको यो आयोजना निर्माण सम्पन्न हुन यस्तै अवस्था हुने हो भने कम्तीमा ३ वर्ष लाग्ने प्राविधिकहरू बताउँछन् ।

प्रकाशित मिति: Dec 13, 2017

प्रतिक्रिया दिनुहोस्