कांग्रेसले गुमायो राजनीतिमा छाउने अर्को मौका
भारत : भारतको प्रमुख विपक्षी कांग्रेस पार्टी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अगाडि पुनः असफल बनेको छ।
४ वर्षअघि नराम्रो पराजय चाखेको कांग्रेस फेरि एकपटक त्यस्तै नियति भोग्न बाध्य भएको छ। सत्तारुढ दल भाजपाका थुप्रै असफलताका बाबजुद पनि १० वर्षअघि लगातार दुईपटक सत्तामा रहेको कांग्रेस आफ्नो हैसियतभन्दा तल झरेको छ।
१. नकारात्मक राजनीतिमा रमायो कंग्रेस
कांग्रेस सुरुदेखि नै नकारात्मक राजनीतिमा रमायो । आफ्नो नेतृत्वमा कंग्रेसले मोदीलाई एउटा ‘अयोग्य चौकीदार’को रूपमा चित्रित गर्न खोज्यो। हरेक भाषणमा राहुलले ‘चौकीदार चोर हो’ भन्दै मोदीले ठूला व्यापारी र उद्योगपतिको मुकुन्डो लगाएर सामान्य मानिसको जीवनस्तर सुधार्ने पूर्ववत् प्रतिबद्धता पूरा गर्न विफल भएको आरोप लगाए ।
तर, चलाख मोदीले मेंभी चौकीदार अर्थात् ‘म पनि चौकीदार हुँ’ भन्ने अभियान सुरु गरे, जुन अभियान यति प्रभावकारी बन्यो कि अहिले आधाभन्दा बढी भारतीयको ओठमा यो नारा गुन्जिन्छ।
सन् २०१४ को आमनिर्वाचनमा विफल भएपछि राहुलले आफ्नो पार्टीलाई शक्तिशाली बनाउन जुन प्रयत्न गर्नुपर्थ्यो, त्यो गर्न नसकेको देखिन्छ । त्यसो त राहुलले आफूलाई परिवर्तन नगरेका होइनन् ।
यसअघि नयाँदिल्लीस्थित एक आवासमा उच्च वर्गका मानिससँगको हिमचिम बढाउने, मोदीलाई टक्कर दिन देशलाई जिम्मेवार विपक्षी नेता आवश्यक परेको समयमा बिदामा विदेशमा रमाउने आरोप खेपेका राहुलले धरातलीय राजनीतिमा आउन निकै प्रयास गरेका थिए, तर उनको प्रयास सफल हुन सकेन ।
२. तल्लो तहका जनतासँग पुगेन
कांग्रेसले मोदीलाई व्यक्तिगत रूपमा भ्रष्ट नेता बताउँदै आएको थियो । गत वर्ष फ्रान्ससँग ३६ वटा लडाकु विमान खरिदमा सरकारले करोडौं भ्रष्टाचार गरेको प्रमुख विपक्षी दललगायत भारतीय सञ्चार माध्यमले आरोप लगाए । चुनावको पूर्वसन्ध्यामा भएको यस राफेल काण्डबारे कांग्रेसले तल्लो तहका जनतालाई बुझाउन सकेन ।
३. जनताले पत्याएनन् कांग्रेसको आश्वासन
निर्वाचन अभियानमा कांग्रेसले आफ्नो पार्टीले चुनाव जितेमा गरिबीको रेखामुनि रहेका प्रत्येक परिवारलाई मासिक ८० डलर दिने घोषणा गर्यो, तर यो चुनावी रणनीतिले ग्रामीण समुदायका मतदातालाई खासै आकर्षित गर्न सकेन। बरु भाजपाको योजना चोरेको कांग्रेसमाथि आरोप लाग्यो।
४. गठबन्धन गर्न सकेन
विज्ञहरूका अनुसार निर्वाचनमा कांग्रेसको पराजय र भाजपाको विजय हुनुको मुख्य कारण प्रमुख राष्ट्रिय तथा क्षेत्रीय दलसँगको गठबन्धनको अभाव पनि हो।
५. पश्चिम बंगालमा भाजपाको रणनीति
भाजपालाई पश्चिम बंगालमा काउन्टर दिन कांग्रेस आफैं शक्तिशाली होइन। पश्चिम बंगालमा भाजपाको मुख्य प्रतिस्पर्धी ममता बेनर्जी नेतृत्वको त्रिणमूल कंग्रेस (टिएमसी) थियो । यस राज्यमा भाजपाले केबल एउटा विषयमा प्रचार अभियान थाल्यो– बंगलादेशी आप्रवासीको खतरा । गैरकानुनी रूपमा बंगलादेशबाट पश्चिम बंगालमा आप्रवासीको घुसपैठ हुनुमा बेनर्जीको मुख्य हात रहेको भाजपाले आरोप लगायो ।
६. मतदाताको मुड बुझेन कांग्रेसले
चुनावमा प्रचार अभियानले महत्वपूर्ण भूमिका खेल्छ । कांग्रेस पदाधिकारीले पार्टी आन्तरिक रूपमा विफल भएको भन्दै उच्च नेतृत्वको आलोचना गरिरहेका वेला चुनावी अभियान सुरु भएको थियो।
कांग्रेसका लागि चुनावको समय नै अनुकूल थिएन । राष्ट्रपति शैलीको चुनावी प्रचारमा जुटेका मोदीको अभियानबाट मन्त्रमुग्ध भएका सडकका मतदाताको मुड चिन्न नसक्दा कंग्रेसले दोस्रोपटक पराजय चाखेको विज्ञहरू बताउँछन्।
७. मोदीको राष्ट्रवादी नारासामु कांग्रेस फितलो
भाजपा निर्वाचनमा पुनः विजयी हुनुमा सो पार्टीको अति राष्ट्रवादी नारा र पाकिस्तानविरुद्धको आक्रमणले पनि सहयोग गरेको देखिन्छ। निर्वाचनको पूर्वसन्ध्यामा मोदी नेतृत्वको सरकारले पाकिस्तानविरुद्ध हवाई हमला गरेको थियो, जुन चुनावी रणनीति मात्र थियो।
मोदीले राष्ट्रवादी नारा घन्काइरहँदा कांग्रेसलगायत प्रमुख विपक्षीले जनताको मुख्य चासो सुन्नुको सट्टा मोदीको सर्जिकल आक्रमणलाई काउन्टर दिन बढी समय खर्चे, जसको परिणाम प्रत्युत्पादक बन्यो।
८. वंश राजनीतिप्रति मोहभंग
निर्वाचनको पूर्वसन्ध्यामा राहुलकी बहिनी प्रियंका गान्धी राजनीतिमा होमिने घोषणा गरिन् । राहुलले प्रियंकालाई पार्टी महासचिवमा नियुक्त गरे । नेहरू वंशकी पछिल्ली पुस्ता प्रियंकाको पार्टी प्रवेशले कंग्रेसलाई राहत दिने धेरै अपेक्षा थियो, तर परिणाम सुखद नरहेको निर्वाचन नतिजाले देखाएको छ।
परिवारवादमा कांग्रेस चलेको आरोप खेपिरहेका वेला प्रियंकाको पार्टी प्रवेशले कांग्रेस कार्यकर्तामा चरम असन्तुष्टि बढेको थियो।