Logo
१८ बैशाख २०८१, मंगलबार
(September 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 यस्तो छ प्रधानमन्त्रीको राजकीय भ्रमण कार्यतालिका:  को को जाँदै छन् भारत ?

pm-prachanda

काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण राजकीय हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमण हुने चार दिनअघि नेपाल र भारतका विदेश मन्त्रालयले एकैसाथ भ्रमणको घोषणा गरेको हो । परराष्ट्र मन्त्रालयले भ्रमणको विस्तृत विवरण सार्वजनिक गरेको छ भने भारतीय विदेश मन्त्रालयले भ्रमण हुने सामान्य जानकारी दिएको छ ।

‘महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीमती सीता दाहाल भदौ ३० देखि २ असोजसम्म भारतको राजकीय भ्रमणमा हुुनुहुनेछ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि प्रचण्डको यो नै पहिलो विदेशयात्रा हो । प्रधानमन्त्री प्रचण्डले हाम्रा प्रधानमन्त्रीसँग ३१ भदौमा कुराकानी गर्नुहुनेछ भने राष्ट्रपतिजीसँग शिष्टाचार भेट गर्नुहुनेछ ।’

भारतले नेपालका प्रधानमन्त्री प्रचण्डको भ्रमणपछि दुई देशबीच सम्बन्ध थप सुदृढ हुने विश्वाससमेत व्यक्त गरेको छ । ‘प्रधानमन्त्री प्रचण्डको भ्रमणले आपसी हित र चासोका विषयमा छलफल गर्ने मौका प्रदान गर्नेछ, साथसाथै दुई देशबीचको व्यापक क्षेत्रहरूमा रहेको सदीऔँ पुरानो निकट र मित्रवत् सम्बन्ध थप सुदृढ उपायको खोजी गर्नेछ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ । जसअनुसार प्रधानमन्त्रीको राजकीय भ्रमण हुनेछ, उनी राष्ट्रपतिका अतिथिका रूपमा राष्ट्रपति भवनमा बस्नेछन् । प्रधानमन्त्री प्रचण्ड दिल्ली पुगेकै साँझ नेपाली दूतावासद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्रीले दिल्लीमा रहेका माओवादी केन्द्रका कार्यकर्तासँग भेटवार्ता गर्नेछन् । सोही दिन भारतका बुद्धिजीवी, सांसदलगायतसँग प्रचण्डको भेट हुनेछ ।

प्रधानमन्त्रीका सबै उच्चस्तरीय भेटवार्ता ३१ भदौमा हुनेछन् । प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार राष्ट्रपति भवनमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ दिनेछ । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदाराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सोही दिन साँझ उनको राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता हुनेछ । प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गर्नेछन् भने राष्ट्रपति विद्या भण्डारीका तर्फबाट मुखर्जीलाई नेपाल भ्रमणको निमन्त्रणा दोहोर्‍याउनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

को को जाँदै छन् प्रधानमन्त्रीको साथमा भारत ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण राजकीय हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमण हुने चार दिनअघि नेपाल र भारतका विदेश मन्त्रालयले एकैसाथ भ्रमणको घोषणा गरेको हो ।

प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि प्रचण्डको यो नै पहिलो विदेशयात्रा हो । प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्रीपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारी, राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत जाँदै छन् ।

प्रधानमन्त्रीले १ असोजमा हिमाञ्चलको नाथपाझाक्री जलविद्युत् परियोजना भ्रमणमा जाने कार्यक्रम छ । २ असोजमा हरिद्वारस्थित पतञ्जली उद्योगको निरीक्षण गरेर प्रधानमन्त्री सोही दिन स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति: Sep 13, 2016

प्रतिक्रिया दिनुहोस्