Logo
१८ बैशाख २०८१, मंगलबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव माओवादीमा पहिरो: ‘कुनै पार्टीमा पनि प्रवेश नगर्ने र पार्टी सच्चिए फर्कने’

भरतपुर । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी चितवनका दर्जन नेताले पार्टीको जिल्ला नेतृत्वप्रति असहमति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेका छन् । उनीहरुले आफूहरु पार्टीमा निस्कृय रहने, अरु कुनै पार्टीमा पनि प्रवेश नगर्ने र पार्टी सच्चिएमात्रै फर्कने बताएका छन् ।
दुई जना जिल्ला कमिटिका सचिवालय सदस्य, पाँचजना जिल्ला सदस्य र पाँच जना इलाका सदस्यले संयुक्त विज्ञप्ति निकालेका हुन् । 
शनिबारको मितिमा जारी विज्ञप्तीमा पार्टीको जिल्लातहमा बढेको बेथितिका बारेमा स्थानीयदेखि केन्द्रीय तहसम्म कुरा राखेको उल्लेख छ । तर आफूहरुले राखेको मतको कतै सुनुवाइ र पार्टीभित्र छलफलसम्म नभएको विज्ञप्तिमा जानकारी गराइएको छ ।
जिल्ला कमिटी सचिवालय सदस्य तथा इलाका सेक्रेटरी रामबहादुर लामा, जिल्ला सचिवालय सदस्य होमबहादुर खड्काको अगुवाईमा प्रेस विज्ञप्ति जारी भएको हो ।
त्यस्तै विज्ञप्तिमा जिल्ला समितिका सदस्यहरु शारदाथापा मगर, राजन तिमिल्सिना, नेत्र नेपाली, पुष्कर भण्डारी र मणिराम ढकालको पनि हस्ताक्षर छ । इलाका सदस्यहरु इन्द्र घिसिङ, निर्मल भट्टराई, अमर खतिवडा, कृष्ण चौधरी र सरिताथापा मगरले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । यसका साथै पार्टी इलाका र सेल कमिटीको जिम्मेबारी लिएका १२३ जना यो अभियानमा सामेल रहेको विज्ञप्तिमा उल्लेख छ ।
चितवनको पहाडी क्षेत्र शक्तिखोरको कोलारमा चुनखानी उत्खनन् रोक्ने आन्दोलन, गतवर्ष भरतपुर तोरिखेतमा भूकम्प प्रभावितहरुलाई ल्याएर राख्ने अभियान र गत महिनाको चितवन मेडिकल कलेज शिक्षण अस्पतालको मजदुरु आन्दोलनमा जिल्ला नेतृत्वले धोका दिएको विज्ञप्तिमा उल्लेख छ । कांग्रेस नेता विकास कोइरालाको स्टार लाइम कम्पनीले कोलारमा चुनखानी उत्खनन् गर्दा माओवादीले बन्द गराएको थियो ।
त्यस्तै व्यक्तिको जग्गामा गोरखाका भूकम्प प्रभावितहरुलाई ल्याएर माओवादीले राखे पनि प्रशासनले तत्कालै हटाएको थियो । चितवन मेडिकल कलेजमा मजदुरहरुले आन्दोलन गरे पनि अस्पताल प्रशासनसँग पार्टी जिल्लासचिव महेस चौधरीले सम्झौता गरेर आन्दोलन स्थगित गरेका थिए । ‘व्यक्तिगत स्वार्थ र आर्थिक प्रलोभनमा आन्दोलन तुहाइएको त छैन’ विज्ञप्तिमा भनिएको छ ।
पार्टीले गरेका कुनै आन्दोलन सफल हुन छाडेको विज्ञप्तिमा उल्लेख छ । चितवनको पार्टी नेतृत्वमा व्यक्तिवादी र हुकुमी शैली हावी हुँदा कार्यकर्तामा चरम वितृष्णा पैदा भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । पार्टी सुधारका लागि आलोचना गर्नेलाई कारबाही गरेर पाखा लगाउने क्रम बढेका कारण आफूहरु निस्क्रिय बस्ने निर्णयमा पुगेको उनीहरुले बताएका छन् ।
विसं २०६९ साल असारमा एकीकृत नेकपामा ओवादीमा फुट भएर मोहन बैद्य किरण र विप्लवलगाएतका नेताहरु अलग भएका थिए । त्यसपछि ७१ साल मंसिरमा बैद्य समूहबाट विप्लवहरु अलग भएका थिए । अहिले फेरि बैद्य समूहबाट रामबहादुर थापा बादलहरु अलग भएर प्रचण्ड नेतृत्वको माओवादीसँग मिसिएका छन् ।
चितवन मेडिकल कलेज आन्दोलनपछि असन्तुष्ट भएका केही विप्लवमा ओवादीपक्षका मजदुरहरु प्रचण्ड नेतृत्वको माओवादीमा नै प्रवेश गरेका थिए , खबर चितवन पोष्टमा छ । शनिबार प्रेस विज्ञप्ति निकालेका विप्लवपक्षका नेताहरुले आफुहरुले बिचार नबेच्ने पार्टी सच्चिने समयसम्म पर्खने उल्लेख गरेका छन् ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्