Logo
५ जेष्ठ २०८१, शनिबार
(June 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गछदारको फोरम लोकतान्त्रिकले भन्यो ‘राष्ट्रिय सहमतिको सरकार आवश्यक’


काठमाडौं । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले संविधानको कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको तर त्यस्तो सरकार गठन नभएसम्म अहिलेको सरकारबाट नबाहिरिने निर्णय गरेको छ ।
फोरम लोकतान्त्रिकको एक साता लामो केन्द्रीय समितिको बैठकले सहमतीय सरकार गठन नभएसम्म अहिलेको सरकारबाट नबाहिरिने निर्णय गरेको हो । फोरम लोकतान्त्रिकले थारु र मधेशका मुद्दा सम्बोधन गर्न, संविधानको कार्यान्वयन गर्न, भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाण  गर्न तथा आर्थिक समृद्धिका लागि प्रमुख दलहरुबीच एकता र सहमति आवश्यक रहेको र सहमतीय सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्न आइतबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले  सहमतीय सरकार मुलुकको आवश्यकता भएपनि अहिलेको सरकारको औचित्य नसकिएकाले पार्टीले सरकार नछोड्ने निर्णय गरेको बताए।
जेठ ३० गते सुरु भएर असार ४ गते सम्पन्न केन्द्रीय समितिको बैठकमा जितेन्द्र देव लगायतका केही केन्द्रीय सदस्यले सरकारमा सहभागी हुँदा नेकपा एमालेसँग भएको ८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारबाट वाहिरिनुपर्ने आवाज उठाएका थिए । 
तर त्यो आवाज मलिनो भएका कारण बैठकले सरकार नछाड्ने निर्णय गरेकाले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता जितेन्द्र देव अनुपस्थित थिए।  बैठकले नेता देवलाई पदाधिकारीमा मनोनयन गरेको छैन। देव पहिलो महाधिवेशन अगाडि उपाध्यक्ष थिए ।
बैठकले रामेश्वरराय यादव, मोहम्मद नसिर सिद्दिकी, आशा चतुर्वेदी र रामजनम चौधरीलाई उपाध्यक्ष, भारतेन्दु कुमार मल्लिकलाई महामन्त्री तथा चन्दे्रश्वर शर्मा खत्वे र हरिप्रसाद न्यौपानेलाई  सहमहामन्त्रीमा मनोनयन गरेको छ । 
बैठकले पार्टीको नियमावली तर्जुमाका लागि उपाध्यक्ष रामजनम चौधरीको संयोजकत्वमा आशा चर्तुवेदी, हरिप्रसाद न्यौपाने, डा. बाबुराम पोखरेल र डा. सुवोधकुमार पोखरेल सदस्य रहेको उपसमिति गठन गरेको छ भने ८२ जना केन्द्रीय सदस्यमध्येबाट केन्द्रीय कार्य सम्पादन समितिमा २५ जनाको मनोनयन गरेको छ।  

प्रकाशित मिति: Jun 19, 2016

प्रतिक्रिया दिनुहोस्