Logo
१८ बैशाख २०८१, मंगलबार
(June 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई मतलव छैन तर, कोरला नाकामा चीनले गर्‍यो सडक विस्तार


काठमाण्डौ । नेपाली सिमा क्षेत्रमा छिमेकी मुलुक चाइनको सक्रियता बढ्न थालिएको छ । उता छिमेकी मुलुक चिनको सक्रियता जति–जति बढ्दै छ, यता, भारतलाई त्यती नै तनाव बढने गरेको छ ।  चीनले नेपालसँग दीर्घकालीन रूपमा व्यापार गर्न मुस्ताङको कोरला नाकासम्म सडक विस्तार गरेको छ । 
पछिल्ला पाँच महिनामा चीनले आफ्नो भूभागमा २० किमि सडक निर्माण गरेको हो । तर, नेपालतर्फको सडक गतिलो नहुँदा व्यापारीले तिब्बतबाट सामान ल्याउन सकेका छैनन् । चीनले यसपटक २५ दिनका लागि कोरला नाका खुला गरेको छ । चीनतर्फ लागेको व्यपार मेला आउजाउ गर्न पनि जिल्लावासीलाई सडककै कारण सास्ती छ । गत बुधबारदेखि नाका खोलेर चीनले आफ्नो भूभागको नयाँ कच्ची सडकमा सवारी सञ्चालन गरेको हो । 
मेला स्थलसम्म चीनबाट सवारी आए । तर, नेपालले आफ्नोतर्फ सडकलगायतका पूर्वाधार निर्माण गर्न नसक्दा नाका खुले पनि व्यापारीले चाहेअनुसारका सामान ल्याउन नसकेको बताए ।  हाल कच्ची सडक जोडेको चीनले ढुंग्वासेन बजारदेखि नेपालतर्फको कोरला नाकासम्म कालोपत्रे सडक जोड्न तीव्र गतिमा काम भइरहेको जनाएको छ । कच्ची सडकमा सवारी गुडाएको चीनले चाँडै यो सडक कालोपत्रे गरेर वर्षभरि यातायात सुचारु गर्ने भएको छ । 
ग्राभेल सडकमा अहिले मोटर गुडिरहेका छन् । नेपालले कोरला जोड्न जिम्मा दिएका सडकका ठेकेदारलाई अनियमितता गरेको पुष्टि हुँदा पनि कारबाही नगर्दा कालीगण्डकी करिडोर अलपत्र अवस्थामा छ । सडक निर्माणमा अवरोध आएपछि भीमदल गणका सेना, प्रहरी र सशस्त्र मिलेर वैशाखमा समरभीर फोरेपछि एकतर्फी सवारी सञ्चालन भएको थियो ।
‘हामीलाई चाहिने सडक बनाउन सरकारले ढिला गर्दा नाका खुले पनि सामान ल्याउन कठिन भएको छ,’ अगुवा कर्मासन्तुक गुरुङले भने । चीनको ढुंवासेन प्रशासन र नेपालको स्थानीय प्रशासनबीच नाका सञ्चालनका विषयमा गत शुक्रबार छलफल भएको थियो । जसरी चीनले सडक विस्तारलाई जोड दिएको छ, नेपालले पनि पूर्वाधार निर्माण गर्ने विषयमा छलफल चलेको थियो । 
वर्षायाम भएकाले अहिले जोमसोमबाट कोरला पुग्नै समस्या छ । केही स्थानमा खोला बढेर वारिको गाडी पारि जान सक्दैन । सवारी परिवर्तन गर्नुपर्छ । भारतीय नाकामा अवरोधपछि उत्तरतर्फका नाका सहज बनाइने भनिएपछि चीनको स्थानीय प्रशासनले ढुंग्वासेन जिल्लामा कोरला नाका जोड्न सडक खन्ने कामलाई तीव्रता दिएको थियो ।
कोरला नजिकै चीनले सडक विस्तार गरेको देख्दा भविष्यमा व्यापारिक नाकाको सम्भावना बढ्दै गएको सशस्त्र प्रहरीका डीएसपी डिलप्रसाद भट्टले बताए । ‘मैले नाकाभित्र चीनतर्फको भूभाग अवलोकन गर्ने अवसर पाएँ,’ उनले भने, ‘नाका खुलेर मेला लागे पनि हाम्रातिर सडक गतिलो नहुँदा मालसामान आयात–निर्यात हुन सकेको छैन ।’ कोरला नाकाको फाइदा लिन नेपालतर्फ सडक दुरुस्त बनाउन जरुरी देखिएको उनले बताए ।

प्रकाशित मिति: Jun 21, 2016

प्रतिक्रिया दिनुहोस्