Logo
१८ बैशाख २०८१, मंगलबार
(July 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.केसीलाई काठमाण्डौ झिकाउने ओलीको तयारी, वालुवाटारमा सरोकारवालासँग छलफल

काठमाण्डौ, २७ असार : पछिल्लो १२ दिनदेखि अनशनरत डा.गोविन्द केसीलाई काठमाण्डौ ल्याउने विषयमा प्रधानमन्त्री केपी ओलीले छलफल सुरु गरेका छन् ।  ओलीले यस विषयमा वालुवाटारमा विभिन्न सरोकारवाला पक्षलाई बोलाएर छलफल गरेको बताइएको छ । आफ्ना माग पूरा नभएसम्म अनशन बसिरहने अडान लिएर जुम्लामा अनशन बसिरहेका केसीको अवस्था जटिल बन्दै गएपछि ओलीले काठमाण्डौ ल्याउने तयारी गरेका हुन् ।

केही दिनअघिसम्म केसीको माग पूरा गर्न नसकिने भन्दै अडान लिएका प्रधानमन्त्री ओलीले चौतर्फी दबाबपछि केसीको स्वास्थ्य अवस्थाप्रति चिन्ता देखाएका हुन् । केसीको जीवनरक्षाको माग गर्दैे मुलुकभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बुधबारदेखि आन्दोलन गर्ने भएका छन् ।

चिकित्सकको छाता संस्था नेपाल चिकित्सक संघले देशभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आ–आफ्नो स्वास्थ्य संस्थामा बुधबारदेखि विरोध कार्यक्रम संचालन गर्न आव्हान गरेको हो ।

यता चिकित्सा क्षेत्र सुधारसम्बन्धी माग राखेर जुम्लामा आमरण अनशनरत डा. केसीले आफू वार्ताका लागि तयार रहेको बताएका छन् । वार्ताका लागि गोविन्द केसी तयार नभएको सरकारी भनाइ प्रकाशमा आइरहेका बेला केसीले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका छन् । उनले आफू वार्ताका लागि सधैं तयार रहेको भन्दै सरकारलाई यसको गृहकार्यमा जुट्न आग्रह गरेका छन् ।

केसीले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “यतिका दिनसम्म संवेदनहीन र गैरजिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामी कुनै पनि बेला वार्ताका लागि तयार छौं ।”

प्रकाशित मिति: Jul 11, 2018

प्रतिक्रिया दिनुहोस्