Logo
२३ बैशाख २०८१, आईतबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्लभ पाटेबाघ मृत फेला, अनुसन्धानका लागि नमूना संकलन

रत्ननगर : चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ । बिहीबार पानीमा खेल्ने र जमिनमा जाने गरिरहेको बाघ आज मृत फेला परेको चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए ।

रत्ननगर नगरपालिकाले फोहर फाल्ने डम्पिङसाइडदेखि १०० मिटर उत्तरतर्फ पञ्चकन्या वनमा उक्त भाले बाघ मरेको हो । शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मरेको भेटिएको भन्दै उनले अर्को बाघसँग जुधेर घाइते भएको र त्यही संक्रमणले मरेको आशंका गरिएको बताए । यसअघि हिजो उसले एउटा बँदेल समेत मारेर खाएको थियो । मरेको बाघको नमूना संकलन गरेर राष्ट्रिय प्रकृति संरक्षण कोषको प्रयोगशालामा पठाइएको पौडेलले जानकारी दिए ।

अरु नै कारण भए परीक्षणपछि मात्र यकिन हुने उनको भनाइ छ । पौडेलका अनुसार १५ दिनअघि समेत सोही वन क्षेत्रमा एउटा बाघ मरेको थियो । यसअघि चैत १० गते चितवन राष्ट्रिय निकुञ्ज नजिकै राप्ती नदी किनारमा बाघ मृत भेटिएको थियो । चैत र वैशाखमा मात्रै चितवनमा तीनवटा बाघ मरिसकेको छ ।

यसैबीच चितवन राष्ट्रिय निकुञ्जको जर्नेली पोष्टमा आज एकै ठाउँमा सात गैंँडा भेटियो । वन्यजन्तु सप्ताहको अवसरमा आज जनप्रतिनिधि तथा संरक्षणकर्मीको जिप सफारीका क्रममा सौराहाबाट निकुञ्जको मूख्य कार्यालय कसरासम्म पुग्दा विभिन्न स्थानमा गरेर १० गैँंडा फेला परे । गैंँडा घाँसे मैदानमा चर्दै थिए । “विरलै मात्र देखिने यस्तो अवसर आज जुरेको वरिष्ठ चराविज्ञ टीका गिरी बताए”। उनका अनुसार “बाघ, गैँंडालगायत वन्यजन्तु अवलोकनका लागि निकुञ्जको जिप सफारी उत्कृष्ट अवसर हो ।”

शुक्रबार त्यही अवसर जनप्रतिनिधि, पार्टी प्रतिनिधि, पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा पत्रकारले पाएका थिए । निकुञ्जको लामिताल नजिकै दुर्लभ पाटेबाघ हेर्ने अवसर समेत आजै मिलेको थियो । सोही ठाउँ नजिकै प्वांख फिँजारेर नाचिरहेको मयूरको सुन्दर दृष्यले जनप्रतिनिधि दंग भए । ‘बाघ लस्किंदै गर्दा देखियो, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले भने, “आजको जिप सफारी निकै उपलब्धिमूलक रह्यो ।” मयूरको नृत्यले अझै निकुञ्जयात्रा सुन्दर बनाएको वन बताउनुहुन्छ । यात्रामा प्रदेशसभा सदस्य कृष्ण भुर्तेल समेत सहभागी भएका थिए ।

जंगलमा भालु, चित्तल, विभिन्न प्रजातिका चरा, बँदेल देखेर जिप सफारीका सहभागी खुसी भए । “सीमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटिय वन र सालका जंगल एकैसाथ अवलोकन गर्न सकिने अवसर जिप सफारीमा मिल्छ, त्यसैले सफारीयात्रा सबैका लागि महत्वपूर्ण हुन्छ,” पर्यटन व्यवसायी तथा संरक्षणकर्मी राममणि खनालले भने ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकका लागि सुरक्षित र धेरै प्रजातिका वन्यजन्तु देखिने जिप सफारी हो । आजको वन्यजन्तु अवलोकनले पनि यसलाई प्रमाणित गरेको बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङ बताए ।

चरा विज्ञ वासु विंडारी सौराहा घुम्न आउने पर्यटक जिप सफारीमा खुसी हुने बताउनुहुन्छ । पर्यटकले सहजै गैँंडा हेर्न पाउने भएकाले पनि सफारी महत्वपूर्ण हुँदै आएको छ । मृगकुञ्ज उपभोक्ता समिति सौराहाको संयोजनमा यहाँका विभिन्न संघ संस्थाको सहभागितामा आज वन्यजन्तु सप्ताहको अवसरमा निकुञ्ज जिप सफारी आयोजना गरिएको हो ।

“मुख्यगरी जनप्रतिनिधिलाई संरक्षणबारे जानकारी दिन यसरी जिप सफारी गरिएको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढंगाना बताए,”। जिप सफारिपछि आज चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा संरक्षण अन्तक्र्रिया समेत भएको थियो ।

सो अवसरमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले समुदायसँग मिलेर संरक्षणकार्य अघि बढाएकाले निकुञ्जले ठूलो उपलब्धि प्राप्त गरेको भन्दै यो अभियानलाई अझै चुस्त पारेर लैजानुपर्ने बताए ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्