Logo
२६ जेष्ठ २०८२, आईतबार
(April 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वर्षसंगै पुर्वी नेपालका मधेशी र थारु समुदायले मनाए जूरशीतल र सिरुवा

नयाँ वर्ष संगै पुर्वी नेपालमा आज सिरुवा र जुड सित्तल पनि मनाइएको छ । नेपालको थारु समुदाय र खासगरी पुर्वी नेपालका मधेशी समुदायले वैशाख १ गतेका दिन यो पर्व मनाउने गरेका छन् । खासगरी घरका जेष्ठ सदस्यले आफू भन्दा साना उमेरकालाई टाउकोमा पानी दिएर शुभ आर्शिवाद दिने प्रचलन रहेको छ ।

साथै आजको दिन निकै फरक तरिकाबाट बिभिन्न परिकारहरु पकाउने परम्परा रहेको छ । यो पर्वमा पुर्वी नेपालका मधेशी र  थारु समुदायका मानिसहरु दश दिन अगावैदेखि आफ्नो घरआँगन लिपपोत गरी सफा राख्छन् । त्‍यो बेला सबैको घर आगनमा एउटा पनि फोहोरको थुप्रो देखिँदैन । लाग्छ, एउटा सुन्दर स्वर्गको आगनीमा आइपुगे जस्तो। बालबालिकादेखि बुढापाकाले यही समय र पललाई पर्खेर बसिरहेका हुन्छन् ।

यसका साथै उनीहरु आधार राति देखि नै विभिन्‍न प्रकारको परिकार तयार पारेका हुन्छन् । गाउँको प्रत्‍येक घर-घरमा भात दाल बरी, अदोरी, पुरी-तरकारी, बरी-कचौरी, लगायतका थुप्रै परिकारहरु पाक्‍न थालिसकेको हुन्छ।त्‍यकारण गाउँघर बास्नाले मगमगाइरहेका हुन्छन् । गाउँमा यस्तो परिकार अरु बेला कुनै पनि बेला हुँदैन ।

बिहान सुतिरेका बालबालिकालाई उठाएर आमाबुवा, ठूलाबडाले उसको शीरमा पानी छर्किएर शुभ आशीश र उज्‍जवल भविष्‍यको कामना गर्ने गर्दछन् । कसैले आफ्‍ना साथीहरुसँग गोबरमाटो खेल्‍ने गर्छन भने कोही खुसियालीमा रंगअबीर रमाइलो मानी खेल्‍ने गर्छन् । यसपछि नुहाएर अम्खोरामा शुद्ध जल लिएर पहिला आफ्‍नो गृह देवता, ग्राम देवता तथा अन्‍य देव-देवी स्थलमा जल चढाउने गरिन्छ ।

त्‍यसपछि आफूभन्दा सानोलाई त्‍यही शुद्ध जल शीरमा छर्किएर आशिर्वाद दिने गर्छन भने आफूभन्दा सानाले ठूलाको गोडामा शुद्ध जल चढाउने गर्दछन् । यो एउटा सहिष्णुतार माया प्रेमको प्रतीक मानिन्छ। कुनै भेदभाव सानो ठूलो नमानी जो कोही पनि बाटोमा भेट्दा आफूभन्दा ठूलो भएर जल चढाएर आशिर्वाद लिने गर्छन् भने सानालाई शीरमा शुद्ध जल छर्किएर आशीर्वाद दिने गर्दछन् ।

यही परम्परा बर्षौ पहिल्‍यैदेखि थारु समुदायमा चल्‍दै आएको छ। यो परम्परा बुद्ध धर्मको थेरावादमा पढाइ हुने भएकाले बुद्ध धर्म मान्‍ने देशहरु म्‍यानमार, श्रीलंका, सिंगापुर र थाइल्‍याण्डका बौद्ध मार्गीहरु पनि यस दिन भव्‍य रुपमा यो जूरशीतल मनाउने गर्छन् ।

प्रकाशित मिति: Apr 14, 2018

प्रतिक्रिया दिनुहोस्