Logo
२१ जेष्ठ २०८२, मंगलबार
(April 28, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजावादी एकतामा कमल थापा र लिङदेन आज एकै मञ्चमा

काठमाडौं । राजनीतिकरूपमा पानी बाराबारको स्थितिमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच नयाँ ‘ब्रेक थ्रू’ भएको छ । थापाको निम्तो मान्दै लिङ्देन आज राप्रपा नेपालको विरोधसभामा सहभागी हुने भएका छन् ।

एउटै लक्ष्य र गन्तव्य बोकेर हिँडिरहे पनि राजावादी हस्ति नेताहरू एक ठाउँमा उभिन सकिरहेका थिएनन् । लिङदेन र थापाबीच त झन् पानी बाराबारकै अवस्था थिए । राप्रपालाई नै फुटाएर थापाले राप्रपा नेपाल गठन गरेको हुँदा यी दुई पार्टीबीच तिक्तताको अवस्था कायम थियो । राजावादी दुई प्रमुख शक्ति नै मिल्न नसक्दा समग्र राजसंस्था पक्षधरहरुको एकता गाँठो परिरहेको थियो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राप्रपा नेपालको कार्यक्रममा अध्यक्ष लिङदेन उपस्थित हुने पुष्टि गरे ।

‘राजसंस्थाको पक्षमा हुने कुनै पनि आन्दोलन र अभियानलाई साथ समर्थन दिने हाम्रो पार्टीको घोषित नीति नै हो । आज राप्रपा नेपालबाट अध्यक्षज्यूलाई निम्ता आएको छ र उहाँ सहभागी हुनुहुन्छ,’ श्रेष्ठले भने ।

आज राप्रपा कमल थापाको निम्तोमा लिङ्देनसहित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टसमेत कार्यक्रममा उपस्थित हुने छन् । राप्रपा नेपालका अध्यक्ष थापाले आफूहरु चारजना पहिलोपटक एउटै मञ्चमा देखिन लागेको भन्दै फेसबुकमा पोस्ट गरेका छन् ।

अहिलेका प्रमुख चार हस्ति नेताहरु एक ठाउँमा उभिने भएपछि राजावादी पंतिमा उत्साह छाएको छ । आजको कार्यक्रमले सबै राजसंस्था पक्षधर शक्तिलाई एक ठाउँमा ल्याएर संयुक्त आन्दोलनको श्रीगणेश हुन सक्ने आशा राजावादीहरुले पालेका छन् ।

अध्यक्ष लिङ्देनको सहभागिता निश्चित रहे पनि राप्रपाले औपचारिकरुपमा राप्रपा नेपालको कार्यक्रमलाई सघाउने बारे कुनै निर्णय गरेको छैन । प्रवक्ता श्रेष्ठ हरेकपटक विज्ञप्ति निकालेर समर्थन गरिरहनु नपर्ने बताउँछन् ।

उनले भने, ‘हामीले पहिल्यै भनिसकेको भएर विज्ञप्ति निकालिएन । राप्रपा नेपालको कार्यक्रमलाई पनि राप्रपाको नैतिक समर्थन रहन्छ ।’

आजको कार्यक्रममा राप्रपा नेपालले पार्टीको झण्डा प्रयोग नगर्ने भएको छ । सबै राजावादी शक्तिहरुलाई समेट्ने हेतुले राष्ट्रिय झण्डा मात्रै बोक्ने रणनीति बनाइएको हो ।

राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौलाको अनुसार आजको सभा करिब डेढ घन्टाको हुने छ । चार जना प्रमुख वक्तासहित अरु दुई-तीन जना थपिन सक्ने उनले बताए ।

बर्तौलाका अनुसार दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियान, शिवसेना नेपाल र वीपी कांग्रेसलाई पनि निम्ताइएको छ । उनीहरुबाट पनि एक एक जनाले भाषण गर्न सक्ने छन् ।

कार्यक्रम स्थल भने अन्तिम समयमा परिवर्तन गरियो । यसअघि भृकुटी मण्डपमा गर्ने भनिएकोमा रत्नपार्कमा हुने भएको छ ।

प्रकाशित मिति: Apr 28, 2025

प्रतिक्रिया दिनुहोस्