Logo
८ जेष्ठ २०८२, बुधबार
(November 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको मत अङ्कगणित : गच्छदार, कार्की, मेहता र राईको यस्तो छ, चुनावी अवस्था

सुनसरीमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ४ र प्रदेश सभा निर्वाचनका लागि ८ निर्वाचन क्षेत्र रहेका छन् भने जिल्लामा कूल ४ लाख ७४ हजार ३ सय मतदाता रहेका छन् । बहालबाला मन्त्री, पुर्वमन्त्री उम्मेदवार रहेका सुनसरीमा काङ्ग्रेसको बलियो पकड रहेको सुनसरीमा यसपटक वाम तालमेलपछि फरक नतिजा आउने अनुमान गरिएको छ ।

सुनसरीमा हालै नेपाली काङ्ग्रेसमा प्रवेश गरेका सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राई, अर्थ मन्त्रीसमेत रहेका नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की लगायतका हेभीवेट नेताहरू चुनावी मैदानमा छन् ।

स्थानीय तहमा दलहरूले प्राप्त गरेको मतका आधारमा सुनसरीका ४ निर्वाचन क्षेत्रमध्ये ३ निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धन अगाडि रहेको छ । रातोपाटीको एक रिर्पोटमा उल्लेख अंकगणित अनुसार  सुनसरी क्षेत्र नं. १ मा मात्र वाम गठबन्धन अगाडि रहेको छ ।

सुनसरी क्षेत्र नं. १
सुनसरी क्षेत्र नं. १ मा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख २२ हजार ६ सय ८ मतदाता रहेका छन् । वाम गठबन्धनबाट एमालेका जय राई र सङ्घीय समाजवादी फोरमबाट अशोककुमार राईबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ नेपाली काङ्ग्रेस र सङ्घीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका कारण नेपाली काङ्ग्रेसले उम्मेदवार उठाएको छैन । गत स्थानीय तहको निर्वाचनमा सुनसरी १ मा काङ्ग्रेसले २३ हजार २४, एमालेले ३० हजार १ सय ३८, माओवादी केन्द्रले १२ हजार ७ सय ४०, नयाँ शक्तिले ५ हजार ५ र राप्रपाले ५ सय ८७ मत पाएको थियो ।

यहाँ वाम गठबन्धनको पक्षमा ४२ हजार ८ सय ७८ मत देखिन्छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १९ हजार ८ सय ५४ बढी मत हो । यहाँ स्थानीय तहको निर्वाचनमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिले चुनावी तालमेल गरी ५ हजार ५ मत पाएका थिए । यो मत नेपाली काङ्ग्रेसले पाएको मतमा मिलाउने हो भने २८ हजार २९ मत हुन्छ । यो मत जोड्दा पनि लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनभन्दा १४ हजार ८ सय ४९ पछाडि परेको छ । स्थानीय तहको चुनावमा आधारमा सङ्घीय समाजवादी फोरमका नेता अशोककुमार राईले सहजै जित निकाल्न सकिने अवस्था देखिँदैन ।

सुनसरी क्षेत्र नं. २
आगामी निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ मा १ लाख ३० हजार ३ सय ७० मतदाता रहेका छन् । यो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्रका डम्बर सुवेदी, नेपाली काङ्ग्रेसका सीताराम मेहता र सङ्घीय समाजवादी फोरमका तेजनारायण चौधरी चुनावी मैदानमा छन् । गत स्थानीय तहको निर्वाचनमा सुनसरी २ बाट मोटामोटी रूपमा नेपाली काङ्ग्रेसले २७ हजार ८ सय ५९, नेकपा एमालेले २८ हजार ९ सय ४०, माओवादी केन्द्रले ४ हजार ६ सय ३९, नयाँ शक्तिले ४ सय ४, राप्रपाले १२ सय ७६, फोरम लोकतान्त्रिकले ५ हजार ७ सय २८ र सङ्घीय समाजवादी फोरमले ४ हजार ६ सय २२ मत पाएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३३ हजार ६ सय ७९ मत छ । यस्तै नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत मिसाउँदा ३३ हजार ५ सय ८७ मत हुन्छ । यहाँ राप्रपाले पाएको १२ सय ७६ र नयाँ शक्तिले पाएको मत नेपाली काङ्ग्रेसमा मिसाउने हो भने वाम गठबन्धनभन्दा नेपाली काङ्ग्रेस १५ सय ८८ मतले अगाडि देखिन्छ । यसआधारमा भन्नुपर्दा यहाँ वाम गठबन्धन र नेपाली काङ्ग्रेसबीच कडा टक्कर पर्नेछ ।

सुनसरी क्षेत्र नं. ३
अगाामी निर्वाचनका लागि सुनसरी क्षेत्र नं. ३ मा १ लाख ९ हजार ८ सय ४१ मतदाता छन् । यो क्षेत्रमा वाम गठबन्धनबाट एमालेकी भगवती चौधरी र काङ्ग्रेसका नेता एवं मन्त्री विजयकुमार गच्छदारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काङ्ग्रेसले २१ हजार ५ सय ७७, एमालेले २० हजार २७, माओवादीले ५ हजार ९ सय ९३, राप्रपाले १८ सय ८९, फोरम लोकतान्त्रिकले १७ हजार ६ सय ७३ र सङ्घीय समाजवादी फोरमले ३ हजार ४ सय २७ मत पाएको थियो ।

यसआधारमा हेर्दा यहाँ वाम गठबन्धनको पक्षमा २६ हजार २० मत छ भने नेपाली काङ्ग्रेसको पक्षमा ३९ हजार २ सय ५० मत देखिन्छ । अर्थात यहाँ नेपाली काङ्ग्रेसको पक्षमा १३ हजार २ सय ३० मत रहेको छ ।

सुनसरी क्षेत्र नं. 
सुनसरी क्षेत्र नं. ४ मा १ लाख ११ हजार ४ सय ८१ मतदाता छन् । यहाँ आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका रमेश श्रेष्ठ, नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र फोरम लोकतान्त्रिकका महेन्द्र यादव चुनावी प्रतिस्पर्धामा छन् । गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा मोटामोटी रूपमा काङ्ग्रेसले २१ हजार २ सय ३३, एमालेले १८ हजार ३ सय २२, माओवादीले ४ हजार २ सय ६, राप्रपाले ११ सय ७०, फोरम लोकतान्त्रिकले ३ हजार ६ सय ६७ र सङ्घीय समाजवादी फोरम नेपालले ८ हजार ९ सय १७ मत पाएको थियो ।

यसअनुसार यहाँ वाम गठबन्धनको पक्षमा २२ हजार ५ सय २८ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २४ हजार ९ सय मत रहेको छ । यहाँ राप्रपाले पाएको मत नेपाली काङ्ग्रेसतिर जाने हो भने नेपाली काङ्ग्रेस वाम गठबन्धनभन्दा थोरै बलियो हुने देखिएको छ ।

प्रकाशित मिति: Nov 5, 2017

प्रतिक्रिया दिनुहोस्