Logo
१८ बैशाख २०८१, मंगलबार
(March 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः उपेन्द्र यादवलाई उपचुनाव लड्ने बाटो खुल्यो

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई उपनिर्वाचन लड्ने बाटो खुलेको छ । गत निर्वाचनमा सप्तरी–२ मा पराजित भएपछि अब बारा-२ मा उपचुनाव लड्न अध्यक्ष यादवले सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूबीचमा समेत तालमेल मिलाइसकेका छन् ।

बारा-२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपेन्द्रका लागि संसद् छिर्ने बाटो बनेको हो ।

उपराष्ट्रपतिमा निर्वाचित यादवले नेकपा एमालेको सहयोगमा चुनाव जितेका थिए । अध्यक्ष यादव भने अब कांग्रेस र माओवादी केन्द्रसहित दलको समर्थनमा चुनाव जित्ने दाउमा छन् ।

तर, उपराष्ट्रपतिको निर्वाचनसँगै उनलाई रोक्न मधेशमै अर्को गठबन्धन बनिसकेको छ ।

मधेशी जनअधिकार फोरममार्फत् मधेश आन्दोलन र सडक संघर्ष गरेर राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्र तीन पटक उपप्रधानमन्त्रीसहित पटक–पटक मन्त्री बनिसकेका छन् ।

तर, यो अवधिमा मधेशका मुद्दा सम्बोधनभन्दा पनि सत्ता र संसद्‍बाहिर अडिन नसक्ने नेता भन्दै उपेन्द्रको संसदीय यात्रा रोक्न जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहितले मोर्चाबन्दी गरेका छन् ।

जनमत पार्टीले उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका जसपाका नेता यादवविरुद्व ममता झालाई उम्मेदवार बनाएको थियो ।

गत निर्वाचनमा पनि यादवलाई जनमतले नै रोकेको थियो । सप्तरी-२ बाट उम्मेदवार अध्यक्ष यादवलाई जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले १८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । अब उनी बारा–२ बाट चुनाव लड्ने तयारीमा लागेका छन् ।

त्यसो त उपेन्द्रका लागि चुनाव क्षेत्र फेर्नु उति ठूलो कुरा भने होइन । सुरुमा पूर्वी तराईबाट चुनाव लडेका यादव अब भित्री मधेश पसिसकेका छन् ।

उनी ०४८ सालको निर्वाचनमा सुनसरी–४ बाट चुनाव लडेका थिए । ०६४ र ०७० मा भने उनी सुनसरी–५ बाट चुनाव लडे । ०७४ को निर्वाचनमा उनी सप्तरी–२ आइपुगे ।

यसपटक दोहोरिएर निर्वाचित हुने उनको चाहनामा ब्रेक लागेपछि अब उनी बारा–२ माबाट फेरि संसद् छिर्ने दाउमा छन् ।

तर यादवका लागि कांग्रेस-माओवादीले साथ दिएपनि उपराष्ट्रपति निर्वाचनसँगै देखिएको मधेशवादी दलको नयाँ मोर्चाबन्दी चुनौती बन्न सक्ने देखिएको छ ।

निर्वाचन आयोगले यसअघि रिक्त भएको चितवन-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने मिति तोकेको छ भने रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको तनहुँ-१ र उपराष्ट्रपतिमा निर्वाचित भएका यादवको बारा-२ मा उपनिर्वाचन गर्नेबारे निर्णय लिएको छैन ।

यी क्षेत्रमा सकेसम्म वैशाख १० भित्रै चुनाव गर्ने कोसिस गर्ने निर्वाचन आयोगका अधिकारीहरुले बताउने गरेका छन् ।

साभार : कान्तिपुर

प्रकाशित मिति: Mar 17, 2023

प्रतिक्रिया दिनुहोस्