Logo
१७ बैशाख २०८१, सोमबार
(December 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलवस्तु जिल्लाका एक न्यायाधीशमाथि बलात्कारको आरोप, आयोगले लेख्यो प्रहरीलाई पत्र

लुम्बिनी प्रदेश स्थित कपिलवस्तु जिल्ला अदालतका १ जना न्यायाधीशमाथि बलात्कारको आरोप लागेको छ। आरोप लागेका न्यायाधीश २०७९ जेठ २९ गते जिल्ला न्यायाधीश नियुक्त भएका थिए।

वर्षौंसम्म बन्धक बनाएर राखेर महिलामाथि यौन शोषण गरेको आरोप उनीमाथि लागेको हो। मानव अधिकार आयोग स्रोतका अनुसार न्यायाधीशसँग आयोगको टोलीले एक चरण छलफल समेत गरेको छ। आफूविरुद्ध उजुरी परेपछि ती न्यायाधीश अहिले बिदामा बसेका छन्।

उक्त आरोपको उजुरी परेपछि राष्ट्रिय मानव अधिकार आयोगले छानबिन थालेको छ। आयोगकी सदस्य लिलि थापाले आयोगमा परेको उजुरीमा थप अनुसन्धान अघि बढाइएको र त्यसका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र न्याय परिषद्‌लाई पत्र लेखिएको बताइन्।

‘पीडित महिला’ले १ साताअघि मानव अधिकार आयोगमा उजुरी दिएकी थिइन्। ती न्यायाधीशले आफूलाई बन्धक बनाएर राख्ने गरेको, जुन अदालतमा सरुवा भयो त्यहीँ लैजाने अनि यौन शोषण गर्ने गरेको पीडित महिलाले उजुरीमा उल्लेख गरेकी छन्।

यसअघि आफूले पटक-पटक प्रहरीमा उजुरी दिने प्रयास गर्दा सफल नभएको पनि महिलाले जनाएकी छन्। आफू ५ वर्षदेखि यौन शोषणमा परेको र पटक-पटक गर्भपतन समेत गराएको उनले उजुरीमा उल्लेख गरेकी छन्।

ती न्यायाधीशसँग आफू २०७५ सालदेखि सम्बन्धमा रहेको र सुरुका वर्षहरुमा श्रीमती बनाउँछ भन्दै माया पनि गरेको, तर पछिल्लो समय यौन शोषण गर्ने अनि महिला हिंसा गर्ने गरेको उजुरीमा दाबी गरिएको छ।

ती महिलाले यसअघि राष्ट्रिय महिला आयोगमा पनि उजुरी दिएकी थिइन्। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका एसपी प्रेमबहादुर बस्नेतले प्रारम्भिक अनुसन्धान सुरु भएको बताए।

‘मानव अधिकार आयोगको पत्र प्राप्त भएको छ,’ एसपी बस्नेतले भने, ‘पत्रानुसार प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।’

प्रकाशित मिति: Dec 6, 2022

प्रतिक्रिया दिनुहोस्