प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै, नेकपा आधिकारिकता दाबी गर्ने
प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय जादैँ छन् । ओली आज बिहान ११ बजे आयोगको कार्यालय जाने उनको सचिवालय स्रोतले बताएको छ ।
स्रोतका अनुसार बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली आज आयोग जान लागेका हुन् ।
त्यसैले उनले आयोगले चुनावी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखिरहेका छन् । प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्नेछन् । साथै उनले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बताइएको छ ।
प्रतिनिधिसभा विघटनसँगै नेकपाको आधिकारिकता विवाद बल्झिएपछि प्रधानमन्त्री ओली निर्वाचन आयोग जान लागेको यो पहिलो पटक हो ।
नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।
तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।
लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाको पुष्पकमल दाहाल पक्ष दलबलसहित निर्वाचन आयोग पुगेको थियो । ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा छन् ।
प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गरेपछि नेकपा दुई खेमामा विभाजन भएको छ । एक पक्ष ओली समुह र अर्को पक्ष दाहाल नेपाल समूह बनेको छ र दुई पक्षले आफ्नो पार्टी आधिकारिक भएको दाबी गर्दै आएका छन् ।
बहुमत केन्द्रीय सदस्यहरु आफूतिर रहेको दाबी गर्दै आएको दाहाल नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले पनि प्रचण्ड-माधव पक्षका नेताहरुलाई हटाउँदै संगठन पुनर्गठन गर्दै आएको छ ।