अन्ततः २३ दिनपछि डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो सरकारी टोली
पटक-पटक सत्याग्रह बस्दै आएका डा. गोविन्द केसी यसपटक आमरण अनशनमा बसेको २३ दिनपछि उनलाई भेट्न सरकारी टोली मंगलवार त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
शिक्षासचिव गोपी मैनाली सहित एक टोली मंगलबार केसीलाई भेट्न शिक्षण अस्पताल पुगेका हुन्। केसीलाई भेटेर सचिव मैनालीले सत्याग्रह स्थगित गर्न अनुरोध गरेका छन् ।
तर, केसीले सत्याग्रह स्थगित नगर्ने अडान राखेका छन् । उनले सरकारका प्रवक्ताकै भनाइअनुसार नै अभिव्यक्ति आएको र त्यसका लागि दु:ख गरिरहन नपर्ने बताएका थिए।
केसीका सहयोगी डा. प्रितम सुवेदीका अनुसार शिक्षा सचिव र उनका टिमलाई औपचारिक रूपमा वार्ता समिति गठन गरेर आए मात्र आफूले कुरा गर्ने जवाफ फर्काएका हुन् ।
केसी सत्याग्रहमा लामो समयदेखि बस्दा अस्वस्थ र गम्भीर बन्दै गए पनि सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन। केसीले विभिन्न ६ बुँदे माग राखेर जुम्लामा अनसन थालेका थिए।
उनको स्वास्थ्य अवस्था जटिल हुन थालेपछि जुम्लाबाट काठमाडौं ल्याइएको थियो।