Logo
१८ बैशाख २०८१, मंगलबार
(February 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतद्वारा नेपालको ‘अरुण तेस्रो’ बनाउन ९१ अर्ब बजेट स्वीकृत

काठमाडौं, ११ फागुन । भारतले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि सतलज कम्पनीलाई अनुमति दिएको छ । साथै ९१ अर्बको बजेट पनि स्वीकृत गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भारतीय मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आयोजना र लागत स्वीकृत गरेको हो । ‘आगामी सेप्टम्बरसम्ममा फाइनान्सियल क्लोजर सक्ने योजना छ, भारतका ऊर्जामन्त्री पियुस गोयलले पीटीआईलाई भने, ‘आयोजना निर्माण कार्य ५ वर्षमा सकिनेछ ।’

नेपालको संखुवासभामा निर्माण हुने यो आयोजनाबाट भारतमा बिजुली निर्यातको लक्ष्य राखिएको छ । सतलज भारतीय सरकार नियन्त्रित कम्पनी हो र, अरुण तेस्रो बनाउन उसले सतलज अरुण तेस्रो विद्युत विकास कम्पनी ३ वर्ष अघि नै स्थापना गरेको छ ।

भारतको केन्द्रीय मन्त्रिपरिषदले अरुण तेस्रो आयोजना र यसको लगानी स्वीकृत गरेको सतलजका अध्यक्ष आरएन मिश्राले जानकारी दिए ।अरुण तेस्रो निर्माणका लागि एमओयु २००८ मार्च २ मा भएको थियो भने त्यही वर्षको जुलाईमा सर्बे अनुमति दिइएको थियो ।

सतलजले २०११ मा सर्बे सकेको छ । २०१४ जुन ९ मा भारतको केन्द्रीय विद्युत प्राधिकरणले आयोजनाको डीपीआर स्वीकृत गरिसकेको छ ।तर, नेपाल सरकारको प्रतिवद्धताअनुसार जग्गा प्राप्त नभएको भन्दै सतलजले गत वैशाखमा आयोजना विकास गर्न नसकिने चेतावनी दिएको थियो । तर, अहिले निजी घरजग्गाको मुआब्जा वितरण लगभग सकिएको छ ।

निजी क्षेत्रबाट ५० हेक्टर जग्गा सतलजले किनिसकेको छ । तर, वनको जग्गा अधिग्रहण भने अझै हुन सकेको छैन । वन अन्तरगत ५ हेक्टर अधिग्रहण भइसकेको छ भने १२३ हेक्टर जग्गा अधिग्रहण गर्न बाँकी छ ।

प्रकाशित मिति: Feb 22, 2017

प्रतिक्रिया दिनुहोस्