Logo
१८ बैशाख २०८१, मंगलबार
(June 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उचित उपचार र पानीसम्म खाना नपाएर कोरोना संक्रमित युवकको ज्यान गयो : थर्ड एलायन्स

बाँके, ४ जेष्ठ : उचित उपचार र पानीसम्म खाना नपाएर एक कोरोना संक्रमित युवाको ज्यान गएको थर्ड एलायन्स नेपालगञ्जले निष्कर्ष निकालेको छ ।

बिश्वभर फैलँदै गएको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत देखिए पश्चात्को विषम परिस्थितिमा सोको नियन्त्रणका लागि बाँके प्रशासनले चालेका पछिल्ला कदमहरु फित्लो बनेको तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स, नेपालगञ्ज) ले निष्कर्ष निकालेको हो ।

बाँकेमा निमार्ण गरिएका क्वारेन्टाईनहरु व्यवस्थित नरहेको र स्वास्थ्यकर्मीहरुलाई आवश्यक सुरक्षा सामाग्रीहरु प्रदान नगर्दा बाँकेको नरैनापुरमा एक जना युवकको ज्यान गएको थर्ड एलायन्सले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

थर्ड एलायन्स नेपालगञ्जका प्रमुख आलम खानले,नेपालको संविधानमा स्वास्थ्यको अधिकारलाई मौलिक हकको रुपमा उल्लेख गरिएको सन्दर्भमा वर्तमान जटिल परिस्थितिमा नागरिकहरुको स्वास्थ्यप्रति जिम्मेवार हुनु सरकारको प्रमुख दायित्व हुन आउँछ ।

तर बाँकेमा रहेका क्वारेन्टाईनहरु अव्यवस्थित रहेका कारण क्वारेन्टाईनमा बसेकाहरुको स्वास्थ्य अवस्था चिन्ता जनक रहेको बताउनु भयो ।

मानव अधिकारको विश्वव्यापी मान्यताअनुसार सबै मानव अधिकार अन्तरसम्बन्धित र समान महत्वको हुने हुँदा जीवनको अधिकार सुरक्षित र सुनिश्चित गर्ने सन्दर्भमा स्वास्थ्यको अधिकारका साथै नागरिकका अन्य आधारभूत अधिकारहरुको समेत सम्मान र परिपूर्ति हुन आवश्यक छ ।

प्रमुख खानले बाँकेको नरैनापुर ५ नयाँ बस्ती घर भएका यूवकको मृत्यु उचित उपचार नपाएका कारण भएको बताउदै क्वारेन्टाईनको व्यवस्थापनको जिम्मेवारी पाएको नरैनापुरको स्वास्थ्य शाखालाई गम्भीर बन्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन अपिल गर्नु भयो ।

थर्ड एलायन्सले गरेको अध्ययन अनुसार बाँकेको नरैनापुर, डुडुवा गाँउपालिका, भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई आवश्यक स्वास्थ्य सामाग्री नदिदा उपचारमा समस्या आउने गरेको उल्लेख गरिएको छ ।

प्रमुख खान अविलम्ब स्वास्थ्य सामाग्री उपलब्ध गराउन सम्बन्धीत निकाय संग आग्रह गर्नु भयो । उहाँले केही स्वास्थ्य संस्थाहरुले एक दम जोखिम आए पछि मात्र सामाग्री दिने भन्ने सोचको निन्दा गर्दै उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामाग्री उपलब्ध गराउन जरुरी रहेको बताउनु भयो ।

साथै प्रत्येक पालिकामा एम्बुलेन्स तयारी अवस्थामा राख्न र एम्बुलेन्स चालक, सुरक्षाकर्मीहरुलाई समेत सुरक्षा सामाग्री प्रदान गर्न आग्रह गरिएको छ।

नेपाल-भारत सीमा नाकामा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकहरुको उद्धार गरी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम क्वारेन्टाइनमा राख्न तथा निजहरुको आवश्यक स्वास्थ्य परीक्षण गराउन र नेपालको संविधानको धारा ५२ बमोजिम आफ्ना नागरिकको मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्बद्र्धन गरी राज्यको दायित्व वहन गर्न थर्ड एलायन्स सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको छ ।

थर्ड एलायन्सले जारी गरेको बिज्ञप्तीमा भनिएको छ नरैनापुरमा मृत्यु भएका व्यक्ति कोरोना संक्रमित भएपनि बान्ता र पखाला भए पछि पानी खानाका लागि गुहार माग गर्दा समेत पानी खाना नपाएका कारण मृत्यु भएको निष्कर्ष निकालेको छ ।

कोभिड-१९ को सङ्क्रमण एक-अर्कोमा नफैलियोस् भनी नेपाल सरकारले गरेको ‘लकडाउन’को सबै नागरिकहरुले पूर्ण पालना गरी घरभित्रै रहन तथा त्यसको अवज्ञा नगर्न थर्ड एलायन्स आमनागरिकलाई आह्वान गर्दछ ।

साथै, त्यस्तो आदेशको अवज्ञा गरी घरबाहिर निस्कनेहरुलाई मानवोचित व्यवहारका साथ कानुन बमोजिम कारवाही गर्न थर्ड एलायन्सले आग्रह गरेको छ ।

प्रकाशित मिति: May 17, 2020

प्रतिक्रिया दिनुहोस्